राम मन्दिर प्राण प्रतिष्ठापछि पनि रोकिएन विवाद, मोदीसँग असन्तुष्ट छन् धर्मगुरू

मूलखबर संवाददाता
काठमाडौं

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा गरिएको प्राणप्रतिष्ठालाई लिएर भारतमा विवाद रोकिएको छैन। सामान्यतया: यस्तो कार्यक्रम ‘धार्मिक महत्त्व’ मा सीमित हुनु पर्ने हो ।

हिन्दू अवधारणमा ‘प्राण प्रतिष्ठा’ एक विशेष महत्त्वको धार्मिक अनुष्ठान हो, जसको राजनीतिक उद्देश्य हुँदैन । हिन्दू धर्म एक बहुईश्वरवादी मत तथा सम्प्रदाय हो, जसमा देवीदेवताका मूर्ति स्थापना र पूजन स्वाभाविक मानिन्छ ।

अयोध्यामा मन्दिर उद्घाटन तथा रामको प्रतिमामा प्राणप्रतिष्ठा गर्ने साइत पारेर सोमवार नेपालका विभिन्न मन्दिर र स्थानमा भजनकीर्तन तथा अन्य धार्मिक अनुष्ठान गरिएको थियो। साँझ दीप प्रज्वलन पनि गरियो। प्राणप्रतिष्ठा कार्यक्रममा भारतका विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरू सहभागी भए।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसको अन्तर्यलाई उच्च महत्त्व दिँदै ‘कालचक्रको दिशा बदल्ने’ घटनाका रूपमा चित्रित गरे । प्राण प्रतिष्ठा समारोहको औचित्यलाई स्थापित गर्न उनी ११ दिन लामो कठोर उपवास बसे । यस ११ दिनभित्र नासिकदेखि धनुष्कोडीसम्म ती सबै स्थानलाई पछ्याउँदै गए, जो रामायणमा वर्णित थिए । राम १४ वर्षको बनबासबाट फर्किएको आभास दिने गरी उनी धनुष्कोडीबाट प्राण प्रतिष्ठाका दिन अयोध्या आए ।

तर धार्मिक मान्यताअनुसार हिन्दू धर्मका सर्वोच्च गुरु मानिने चारै जना शङ्कराचार्यहरू कार्यक्रममा गएनन्।

वैदिक परम्पराका ज्ञाता तथा तन्त्रविद् प्रा विद्यानाथ उपाध्याय भट्टका भनाइमा वैदिक धर्मको उत्थानका क्रममा प्रश्न उठ्दा निर्णय दिने सबैभन्दा माथि शङ्कराचार्यहरू छन्।

पुरी ओडिशास्थित गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले मन्दिर अपूर्ण रहेको तर्क अघि सारेका छन्।

तन्त्रविद् उपाध्याय भन्छन्, “जुनसुकै मूर्ति पनि प्राणप्रतिष्ठापछि मात्र पूजायोग्य हुन्छ। लौकिक मान्छेहरू पनि अपूरो घर भत्किन्छ, के हुन्छ कि भनेर बस्दैनन्। त्यस्तै भगवान्‌को पनि मन्दिर पूरा भएको छैन, अपूर्ण घरमा प्राणप्रतिष्ठा गर्नुहुँदैन भन्ने शङ्कराचार्यहरूको भनाइ छ।”

सन् १९९० को सेप्टेम्बर-अक्टोबरमा भजपा नेता लालकृष्ण आड्वानीले ‘अयोध्या रथ यात्रा’ गरेका थिए । यो यात्रा गुजरातको सोमनाथबाट सुरू भएको थियो । रथयात्रा बिहार पुग्दा तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले साम्प्रदायिक भावना फैलाएको भन्दै रोकेका थिए । फलतः घटनाक्रमले दंगाको रूप लिएको थियो । आरएसएसका स्वयंसेवकले रथ यात्राभन्दा अगाडि नै अयोध्या पुगी बाबरी मस्जिद तोडफोड गर्ने प्रयास गरेका थिए । तर, प्रशासनले निक्कै ठूलो बल प्रयोग गरी रोकेको थियो ।

सन् १९९२ को डिसेम्बर ६ मा त्यहाँ अर्को ठूलो दंगा भयो । त्यो दिन भारतीय जनता पार्टीका आड्वानी, मुरलीमनोहर जोशी र उमा भारतीले राममन्दिर बनाउन दबाब दिने उद्देश्यले आयोजित धार्मिक सभामा भाषण गर्ने कार्यक्रम थियो । १ लाख ५० हजारभन्दा बढी सहभागी थिए । उत्तेजित सहभागीले बाबरी मस्जिद तोडफोड गरे । त्यसपछि भड्किएको दंगामा देशभरि करिब २ हजार मानिसको मृत्यु भएको थियो ।

सोमबारको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले ती घटनाको स्मरण गरे । त्यसलाई ‘राम भक्ति’ का लागि भएको बलिदानका रूपमा चित्रण गरे । उनले भने; करिब ५०० वर्षपछि ‘राम अयोध्यामा फिर्ता’ आएका छन् । ‘श्रीराम’ लाई भारतबाट कसैले खोस्न सक्ने छैन । राम भारतीय राष्ट्रका प्रतीक हुन् । राम भारतका शान, मान र विधान हुन् । ‘रामराज्य’ भारतीय राज्य र शासनप्रणालीको आदर्श हो ।

प्रधानमन्त्री मोदीले भने कि त्रेता युगमा बनबास गएका राम १४ वर्षमा अयोध्या फर्किएका थिए, यसपटक राम ५०० वर्षमा अयोध्या फर्किएका छन् । यो ‘५ सय वर्ष’ भित्रको कथा भिन्नै छ । यसले भारतीय राजनीति र सभ्यताको कठोर आरोह अवरोहलाई चित्रण गर्दछ ।

हिन्दू विश्वासअनुसार मुगल साम्राज्यका जर्नेल मिर वाकीले सन् १५२८ तिर यहाँको परम्परागत राम जन्मभूमि मन्दिर भत्काएर त्यसैमाथि मुगल संस्थापक बाबरको नाममा ‘बाबरी मस्जिद’ बनाएका थिए । बाबरी मस्जिद भएको स्थान नै राम जन्मभूमि भएको दाबीले हिन्दू र मुस्लिम समुदायबीच लामो विवाद हुँदै आएको थियो ।

हिन्दूहरूको बाबरी मस्जिद भत्काएर पुन राममन्दिर बनाउनुपर्ने माग गर्न थालेपछि यो विवादले ठूला-ठूला दंगा निम्त्यायो । पहिलो दंगा सन् १८५० मा भयो । सन् १९५९ मा अंग्रेज शासकले बीचमा पर्खाल लगाएर एकातिर राममन्दिर र अर्कोतिर बाबरी मस्जिदको क्षेत्र छुट्याएका थिए ।

यो वर्षको मध्यतिर भारतमा लोकसभाको नयाँ निर्वाचन हुने छ । दोस्रो कार्यकाल पूरा गर्दै गरेका प्रधानमन्त्री मोदी तेस्रोपटक जित हात पार्ने रणनीतिमा छन् । विपक्षी दल भने भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै चुनाव लड्न डराएका छन् । उनीहरूले २८ दलको विपक्षी मोर्चा बनाउने प्रयास गरिरहेका छन् । अयोध्या राममन्दिर आगामी लोकसभा चुनावमा भारतीय जनता पार्टीका लागि थप एक ‘सफलताको कथा’ बन्ने देखिन्छ ।