एनसेल किन्ने जो कोहि होस, सिस्टमविरुद्ध जानेसँग लड्न तयार छौँ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ३ पुष २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको स्वामित्व खरिद गर्ने कम्पनीबारे आफू स्पष्ट रुपमा जानकार रहेको बताउनु भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वेलायतमा कम्पनी खडा गरेर एनसेलको शेयर खरिद गर्नेहरूलाई आफूले राम्रोसँग चिनेको तर सिस्टमविरुद्ध जानेसँग लड्न तयार रहेको बताउनुु भयो ।

‘मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई पटक गएको छु । तिनै साथीहरुकोमा बसेको पनि छु। शेरबहादुर देउवा जाँदा पनि बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ । हाम्रो बीचमा कुरा पनि हुन्छ।’ प्रचण्डले भने‚ ‘तर त्यसको अर्थ राष्ट्र र जनताका विरुद्ध, ऐन कानुन र हाम्रो संविधानका विरुद्ध, हाम्रो सिस्टमका विरुद्ध जोसुकै जान्छ भने तिनका विरुद्ध लड्न हामी तयार भएको हो नि!’

प्रधानमन्त्री प्रचण्डले चिनेजानेका नाताले अनुहार हेरेर नमानिने भन्दै राष्ट्र र जनताको हित नै मुख्य कुरा भएको बताउनु भयो । एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा जालझेल भएको प्रचण्डले दाबी गर्नुभयो । कर पनि छल्ने र स्वामित्व सरकारलाई हस्तान्तरण पनि नगर्ने नियतले काम भएको उहाँले जानकारी गराउनु भयो । उहाँले सरकारलाई स्वामित्व हस्तान्तरण गराउनका लागि लड्नुपर्ने र त्यसका लागि आफू प्रधानमन्त्री तहबाट गर्नुपर्ने जुनसुकै काम गर्न तयार रहेको जोडदिनु भयो ।