
जेल जीवनपछिको बालकृष्ण खाँणको राजनीति, कित्ता फेरेर अघि बढ्ने संकेत
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहका बलिया नेता मानिन्छन् बालकृष्ण खाँण । लामो राजनीतिक अनुभव सँगालेका खाँणको संगठनमा बलियो पकड छ । यसकारण उनलाई कुनैबेला देउवा समूहबाट भविष्यको नेतृत्वकर्ताका रुपमा हेरिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि भने खाँणको शक्ति ह्वात्तै घट्न पुग्यो। उनी जेल पार्नुमा शरणार्थी प्रकरण मात्र नभएर काँग्रेसको देउवा समूहको आन्तरिक संघर्ष पनि हो भन्ने विश्लेषण नभएको होइन ।
सुन्धारास्थित केन्द्रीय कार्यालयमा थुनामा रहँदा खाँणलाई दिनहुँजसो उच्च पदस्थ नेतादेखि कार्यकर्ता र शुभेच्छुक भेट्न पुगिरहन्थे। खाँणले परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा आफूलाई अन्यायपूर्ण व्यवहार भएको बताएका थिए। पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले आफूलाई षड्यन्त्रपूर्वक फसाएको गुनासो गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिई अचानक पक्रन लगाएको आरोप पनि उनले लगाएको एक निकट नेताले बताएका छन्। खाँणले आफूमाथि भएको भनिएका षड्यन्त्र र उक्त घटनाको भोगाइ विशेष स्थानमा बोल्ने भनेका छन्। जेलमा परराष्ट्रमन्त्री एनपी राउदसँगको भेटमा खाँणले भनेका थिए, ‘थाहा छैन, जेलमा सड्छु कि के गर्छु तर जेलबाट निस्किएँ भने चाहिँ भन्नुपर्ने कुराहरु भन्छु।’ उनको धम्कीपूर्ण उक्त अभिव्यक्ति पार्टी सभापति देउवा खेमामा लक्षित थियो। उनले बाहिर बोल्ने कुरा केही नभएको तर विषेश मान्छेहरुका बीचमा सबैकुरा राख्ने बताएका छन्।
देउवाका विश्वासपात्र मानिएका खाँण जेलमुक्त हुनासाथ उनलाई भेट्न चाहने आफन्त, कार्यकर्ता र शुभेच्छुकको वास्ता नगरी सिधै ललितपुरस्थित बंगलामुखी मन्दिर दर्शन गर्न पुगे। बंगलामुखी मन्दिरको दर्शनले बिग्रिएको काम बन्नुका साथै मनले चाहेको पूरा हुने धार्मिक विश्वास छ। जेलबाट बाहिरिएलगत्तै बंगलामुखीको दर्शन गर्न जानुले खाँण हिन्दुत्वसँग नजिक भएका हुन्? भन्ने प्रश्न पनि उठेको छ।
खाँण पक्राउ परेपछि पार्टी उपसभापति समेत रहेका कानुनमन्त्री धनराज गुरुङ र महामन्त्री गगन थापा लगायतले उनलाई निलम्बन गर्नुपर्ने माग राखेका थिए।
नेता खाँण जेलमा रहँदा कांग्रेसको डा. शेखर कोइरालासँग नजिक हुँदै गएको कांग्रेस नेताहरु बताउँछन्। शेखर कोइराला निकट एक नेताले मूलखबरसँग भने, ‘खाँण दाइ (बालकृष्ण खाँण) पछिल्लो समय खास धेरै त बोल्नुहुन्न तर उहाँ हिजो जसलाई नेता मानेर हिड्नुभएको थियो, उहाँसँग रुष्ट हुनुहुन्छ, त्यो उहाँले भोलिका दिनमा व्यवहारले पनि देखाउनुहोला, उहाँ शेखर कोइरालासँग नजिकिन पुगेको हो कि जस्तो मैले बुझेको छु।’
खाँणले बोल्ने विषेश स्थान र व्यक्ति तथा त्यसले निम्त्याउने परिणामले पार्टीमा कस्तो प्रतिक्रिया जन्माउला, त्यो भोलिको दिनले देखाउनेछ।
