
अहिलेकाे जोड जलविद्युत क्षेत्रमा : प्रधानमन्त्री प्रचण्ड
पाँचखाल, २७ मङ्सिर २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आफ्नो जोड जलविद्युत क्षेत्रमा रहेको बताउनु भएको छ । उहाँले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेको बताउनुभयो । उहाँले प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको बताउनुभयो । देशभित्र विद्युत खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सक्यौ भने नेपाल बन्न धेरै समय कुर्नु पर्दैन उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफु दोस्रोपटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ रहेको र ‘‘लोडसेडिङ अन्त्य गर्छु’’ भन्दा धेरै मान्छेले नपत्याएको स्मरण गर्नुभयो । कतिले त्यसलाई हाँसोठट्टाको विषय बनाएको तर आफु प्रधानमन्त्री बनेको ३ महिनामै १८ घण्टाको लोडसेडिङ सदाका निम्ति अन्त्य गरेको बताउनु भयो ।
अहिले पनि सरकारले केही प्रतिज्ञा गरेको बताउनु भयो । यसपटक पनि ‘‘आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुनेछ । उहाले भन्नुु भयो “मैले यो पनि भनेको थिएँ– मैले राम्रा काम मात्रै गर्नेछु र कसैलाई गलत गर्न दिने छैन । त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको छु र देश बनाउने यात्रा निरन्तर जारी छ ।”
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा नेपालमा महिला उद्यमी हरित औद्योगिक पार्क स्थापना हुन लागेको हो । यस आयोजना निर्माणका लागि पाँचखाल नगरपालिकाकासँग एक सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेको छ । महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमासमेत प्रवद्र्धन गर्न सकिनेछ ।
प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत काभ्रेको पाँचखालमा निर्माणधिन औद्योगिक पार्कलाई ‘‘महिला औद्योगिक ग्राम’’का रूपमा स्थापना गर्न आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषदले २०८० जेठ २४ मा निर्णय गरेको जानकारी गराउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको बताउनु भयो । उहाँले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका केही ठूला, नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने र त्यसले कृषिमा आधारित सयांै उद्योगहरू स्थापना गर्न मद्दत पुग्नेछ आश्वसन दिनुभयो ।
