विक्षिप्त प्रतिपक्षीलाई प्रचण्डका २ सन्देशः सरकार ढल्दैन, गठबन्धन टुट्दैन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन्। सरकारका कामबाट विक्षिप्त बनेकाहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी पनि उनले गरेका छन्।
तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने एकथरिको खेल, कसरत भइरहेको छ।’
उनले अहिलेको गठबन्धन सरकार नै पूरै अवधि चल्नेसमेत बताए। ‘गठबन्धन पूरै अवधि जान्छ। अब एक वर्षको समीक्षा गर्ने र अर्को वर्षका लागि नयाँ रणनीति सोच्ने बेला आएको छ,’ प्रधानमन्त्री दाहालले भने।
सोङ्गबार नै काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सरकार बनेको बेलादेखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए।
सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कुटनीतिका क्षेत्रमा राम्रा कामहरु अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरु अत्तालिएको उनको भनाइ थियो।
‘एकथरि व्यक्तिहरुले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुनेभयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे’ उनको भनाइ थियो, ‘तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन्। यतिले मात्रै नपुगेर संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग क्षेत्र लिंगका अधिकारविरुद्ध लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न पुगेका छन्। संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेका छन्।’
सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्त्वपूर्ण निर्णय गरेको उनले दाबी गरे। सरकारले युगौंदेखिका सामन्ती उत्पीडनहरुको अन्त्य गर्न मीटरब्याज पीडितहरुका पक्षमा कानुन नै दिएर सामन्ती दलालहरुको पीडाबाट हजारौं जनतालाई मुक्ति दिन सफल बनेको उनको भनाइ थियो।
यसैगरी लाखौं लाख नेपाली आमाबुवाका सन्तानले नागरिकता नपाउने पीडाको समेत सम्बोधन गरेको उनले बताए। ‘मीटरब्याज पीडितहरुका पक्षमा आयोग र ऐन नै बनाएर पीडकहरुमाथि कारबाही गरियो। पीडितहरुका लागि यो मुक्ति अभियान जस्तै भयो पनि। यसैगरी बुवाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका ७, ८ लाख नेपालीले नागरिकता पाउन सके,’ उनले भने।