मन्त्री नपाएपछि अमरेशको तुच्छ बार्गेनिङ, प्रधानमन्त्रीको सचिवालयबारे दुष्प्रचार
कांग्रेसबाट निश्कासित भएपछि स्वतन्त्र चुनाव लडेर जितेका नेता अमरेश कुमार सिंह पैसा र पावरका लागि जस्तो पनि स्टन्ट गर्न माहिर छन् ।
जिल्लामा आफ्नो दबदबा अन्त्य हुने चिन्ताले पार्टीभित्र गर्न मिल्ने र नमिल्ने अनेक तिकडम गरेपछि उनलाई कांग्रेसले निकालेको थियो।
अरूमाथि भ्रष्टाचारको आरोप लगाउने र चर्चामा आउने अमरेशको पछिल्लो फण्डा हो । यही प्रयोग अहिले उनले प्रधानमन्त्रीसँग पनि गरेका छन्।
प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले विगतमा मन्त्री हुन नपाएको झ्वाँक र अब मन्त्री हुने बार्गेनिङका लागि अमरेशले मिथ्या आरोप लगाएको टिप्पणी गरेका छन्।
मन्त्रीको आकाँक्षा राखे पनि बन्न नपाएपछि अमरेशले प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने असफल प्रयास गरेका छन्। बार्गेनिङकै टुलका रूपमा उनले प्रधानमन्त्रीको सचिवालयबारे दुष्प्रचार गरेका छन्।
यसैबीच प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँको परिवारका सदस्यसँग जोडेर स्वतन्त्र सांसदको भूमिकामा रहेका पूर्व नेपाली काँग्रेस नेता अमरेशकुमार सिंहका पछिल्ला अभिव्यक्तिप्रति प्रधानमन्त्रीको सचिवालयले मुख खोलेको छ ।
सांसद सिंहले हालैको एनसेल सेयर बिक्री प्रकरणमा प्रधानमन्त्री पुत्री गंगा दाहालको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका थिए । त्यसको खण्डन गर्दै सचिवालयले सिंहले अनेक बार्गेनिङ गरेको र त्यो पूरा नभएपछि मिथ्या आरोप लगाएको जिकिर गरेको छ ।
‘मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्’, सचिवालयले भनेको छ, ’उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ ।’
सचिवालयले उक्त आरोपको भत्र्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । त्यस्तै, एनसेल बिक्री प्रकरणलाई सरकारले गम्भीरतापूर्वक लिई अध्ययन र छानबिनको प्रक्रिया अघि बढाइसकेको पनि दोहोर्याएको छ ।
’सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ । छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ’, बालुवाटारले भनेको छ ।
यो तथ्य आँखा अगाडि हुँदाहुँदै सांसद सिंहले कानुनी राज्यमाथि नै चुनौती दिनेगरी कपोलकल्पित आरोप लगाएको बताउँदै अगाडि भनिएको छ, ’अमरेश कुमार सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतः झुठ कपोलकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्याउने एवम् कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ ।’
यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलाबद्ध दुष्प्रचार गर्ने गरेको दाबी गर्दै सचिवालयले सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार रहेको बताएको छ ।
सचिवालयले भनेको छ, ’हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्ने छ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन् ।’
नांगेझार पार्ने छौं- दीपशिखा
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सचिव गंगा दाहाललाई लगाएको आरोप पुष्टि गर्न अमरेशकुमार सिंहलाई चुनौती दिएका छन्।
माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का फ्याक्सन इन्चार्जसमेत रहेका दीपशिखाले अमरेशले गंगालाई लगाएको आरोप पुष्टि नगरेर एक सातापछि नाङ्गेझार बनाउने बताएका हुन्।