ठूला भ्रष्टाचारको फाइल खाेल्ने सरकारकाे तयारी

मूलखबर संवाददाता
काठमाडौं, २१ मंसिर

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएकाे छ।

माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयाे ।

“सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्रीले भन्नुभयाे, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयाे ।

“नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, “पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।”

मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयाे ।