पक्राउ परे नेपालीलाई रुस र युक्रेन पठाउने दलाल, सरकारको सतर्कता सन्देश

मूलखबर संवाददाता
काठमाडौं

नेपाल प्रहरीले रुसी तथा युक्रेनी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।प्रहरीको टोलीले काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।

पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् । यसरी अवैधरुपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच सरकारले नेपाली नागरिकलाई युद्वरत देशरूस र युक्रेन लगायत देशहरूमा अवै रूपले सेनामा भर्ना नहुन र भएको भए तत्काल फिर्ता हुन आग्रह र अपिल गरेको छ ।

रूसी सेनामा भर्ती भएर युक्रेनविरूद्व लडिरहेका ६ जना नेपालीको मृत्यु भएको खबर आएपछि सरकारले साे अपिल गरेको हाे ।

रूसमा नेपाली नागरिकलाई विद्यार्थी र भिजिट बाहेक अन्य भिसा दिने नगरिएको नेपालले जनाएको छ । रूसी सैनिकमा कसरी भर्ना भए र कति नागरिक रूसी अथवा युक्रनी सैनिकमा भर्ना भएका छन् भन्ने कुनै पनि आधिकारिक तथ्यांक नेपाली निकायसँग छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूस र युक्रेनमा सेनामा नेपालीकाे सहभागीता कति छ, कसरी भयाे भन्ने यथार्थ विवरण संकलन गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिईसकेकाे बताउनुभएकाे छ ।

रूस सरकारलाई यस लडाईका लागि नेपाली नागरिकलाई भर्ना नगर्न र यदि कसैलाई भर्ना गरेको भए तत्काल नेपाल फिर्ता पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ।