
युएईमा उद्यमीलाई प्रधानमन्त्रीको आह्वान : नेपालमा लगानी गर्न आउनुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२८ मा सहभागी हुने बिहीबार अवुधाबी पुगेका प्रचण्डले सोही दिन साँझ नेपाल-दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरि त्यसको प्रतिफल उठाउन स्थानीय उद्योगीलाई आह्वान गरेका हुन्।
दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए।
सो अवसरमा युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताएका थिए।
दुबई उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य संघ र दुबई उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएका थिए।
यस्तै, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा युएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका उद्यमी/व्यवसायीहरुको उपस्थिति थियो।
