रास्वपाको राजनीतिः स्वर्णिम बने उपसभापति, व्यवस्थाभित्रै परिवर्तन खोज्ने दस्तावेज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको जानकारी दिएका हुन् ।
महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनीत भएका छन् । रास्वपामा यसअघि नै उपाध्यक्षमा डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र कोषाध्यक्षमा बसुमाया तामाङ रहेका थिए । अब सभापतिसहित ११ सदस्यीय पदाधिकारी बनेको छ ।
संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको उनले बताए । रास्वपाले पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको छ ।
रास्वपाले अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । आज रास्वपाले पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
यस्तो बन्यो पदाधिकारी
. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा
व्यवस्थाभित्रैबाट परिवर्तन खोज्ने
रास्वपाले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो ।
रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको छ । ‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’ पारित प्रस्तावनामा भनिएको छ ।
प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ ।
लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत– साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी – अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रस्तावनामा उल्लेख गरिएको छ ।