प्रचण्ड-ओली सिंहदरबार संवादः दुई नेताबीच चलेका चर्चा र वार्तालापका विषय
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भयो। प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल भएको बुझिएको छ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मूलखबरलाई बताए । उनले भने, ‘प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेटवार्ता भएपछि राजनीतिक घटनाक्रमबारे कुरा हुने भइहाल्यो । तर, कुनै ठोस एजेण्डा केन्द्रित भएको होइन ।’
प्रधानमन्त्री प्रचण्डले भोलि आफू कोप–२८ सम्मेलनमा जान लागेको जानकारी गराउँदै सुझाव मागेको बताए । ओलीले प्रधानमन्त्रीलाई सुझाव दिँदै आफू पनि मध्यपहाडी लोकमार्गको पदयात्रा निस्कन लागेको जानकारी गराएको बताए ।
०७२ को महाभूकम्पपछिको भत्काउने भनिएको भवनमा ‘रेट्रो फिटिङ’ पछि सञ्चालनमा आएको एक सातापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंसिर ६ गते सो भवनको उद्घाटन गरेका थिए। क्षति भएको संरचनालाई ‘रेट्रो फिटिङ’ गरेर पुरानै अवस्थामा फर्काएपछि ओली त्यहाँ पहिलोपटक पुगेका हुन्।
ओलीलाई प्रधानमन्त्री प्रचण्डले कार्यालयका सबै कक्ष घुमाए। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा प्रसन्न हुँदै प्रचण्डले ओलीलाई प्रधानमन्त्री कार्यालय घुमाएको दृष्य देखिन्छ।
दुई नेताहरुबीचको भेटमा गणतन्त्रविरोधी पछिल्ला आन्दोलन, संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगोलगायतको विषयमा पनि छलफल भएको हो ।
पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैल्याउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।