आफैंले बनाएको संविधान उल्ट्याउन तयार कांग्रेस, हिन्दु राष्ट्रको पक्षमा लचकता

मूलखबर संवाददाता
काठमाडौं

वर्तमान संविधानको निर्माणमा नेतृत्व गरेको दल हो नेपाली कांग्रेस। संविधानमा भएका सबै प्रावधानमा कांग्रेसको स्वामित्व स्वभाविक विषय हो। तर आफैंले बनाएको संविधानमा रहेको धर्म निरपेक्षताका विषयमा पुनर्विचार गर्न सकिने अभिव्यक्ति दिएर कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस संविधान उल्ट्यान तयार रहेको संकेत दिएका छन्।

देउवाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि हच्किएको मनस्थितिमा रहेको उनीनिकट नेताहरु बताउँछन्। छिमेकी मुलुक भारतको संस्थापन र उच्च तहबाट नेपालमा धर्मनिरपेक्षता हटाउन पटक पटक दबाब आइरहेको तथ्य छिपेको छैन।

देउवाले आफू हिन्दुराष्ट्रको पक्षमा उभिन नसकेपनि धर्मनिरपेक्षता हटाउन तयार रहेको संकेत गरेका छन्। कांग्रेसमा यसअघि शशांक कोइराला र शंकर भण्डारीमा मात्रै सीमित धर्मनिरपेक्षता विरुद्धको बहस अब संस्थागत बन्ने संकेत देखिएको छ।

‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र अब फर्कने कुनै सम्भावना छैन । केहीले देउवा केही दिनदेखि देखिएको गतिविधिका विषयमा बोलेनन् भनिरहेका छन् । संघीयता र गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि हामीलाई मान्य छैन,’ देउवाले नवलपुरको जिल्ला सम्मेलनमा सोमबार भने, ‘यो कांग्रेसको स्पष्ट धारणा हो । कसैले धर्मनिरपेक्षताको विषय उठाएका छन्, यसमा सोच्न सकिन्छ । पार्टीमा छलफल गर्न सकिन्छ, तर गणतन्त्र निर्विकल्प हो ।’

देउवाले धर्मनिरपेक्षताबारे फ्लोर ओपन गरेर पार्टीको आगामी बैठकमा बहसका लागि मार्ग प्रशस्त गरेका छन् । तर यसअघि धर्मको विषय उठाउनेहरू कर्नरमा पर्दै आएको कांग्रेसमा देउवाको यो भनाइले बुटीको काम गर्ने नेताहरू बताउँछन् ।

पार्टीको महत्त्वपूर्ण नीतिगत बहसअघि देउवाले सार्वजनिक मञ्चबाट यस विषयमा बहस गर्न सकिने बताएपछि हिन्दू राष्ट्रको माग गर्नेहरू उत्साहित भएका छन् ।

देउवाले सोमवार मात्रै होइन, गत कात्तिक २१ गते पनि सर्वदलीय बैठकमा धर्मको विषय उठाएका थिए । ‘परिवर्तनका मुद्दाप्रति सामाजिक सञ्जालमा गलत टिप्पणी छ । यो रोक्नुपर्ने भएको छ । व्यवस्था, मुद्दा र नेताप्रति गाली गर्ने, हेट स्पीच दिने, दूषित बनाउने काम भयो, यसलाई रोक्नुपर्छ,’ देउवाले बैठकमा भनेका थिए, ‘दुरुपयोग भयो, हेट स्पीच भयो, यसलाई नियन्त्रण गरौं ।’

देउवाले सो बैठकमा ‘भारतमा धर्म निरपेक्षता छ, तर हाम्रोमा जस्तो भइरहेको छैन’ भनेर धर्मनिरपेक्षताको गलत फाइदा उठाउनेहरूतर्फ संकेत गरेका थिए ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापतिले गणतन्त्र र संघीयताको विषयमा प्रश्न उठाउन नपाइने मात्र बताएको दाबी गर्छन् । ‘सभापतिले गणतन्त्र र संघीयताविरुद्ध प्रश्न उठाउन पाइँदैन भनेर बोल्नु भनेको धर्मनिरपेक्षतामा प्रश्न उठाउने र छलफल गर्ने भनेको होइन । परिवर्तनका मुद्दाप्रति उहाँले भरोसा दिलाउनु भएको हो,’ विश्वकर्मा भन्छन्, ‘महासमिति बैठकमा धर्मनिरपेक्षतको विषय एजेन्डाको रुपमा आउँदैन । छलफलको विषय पनि बन्दैन ।’

यसैबीच देउवाको अभिव्यक्तिसँगै प्रधानमन्त्री प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भेटेका छन्।

मुलुकमा अभियन्ता दुर्गा प्रसाईँको आन्दोलनले ध्यान खिचिरहेको र सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले पनि परोक्ष रुपमा हिन्दुराष्ट्रको रुपमा आफूलाई उभ्याउने बताएपछि ओली प्रचण्डलाई भेट्न पुगेका हुन्।

प्रसाईंको आन्दोलन र देउवाको धर्मनिरपेक्षतामाथि समीक्षा गर्ने अभिव्यक्तिबारे ओली र प्रचण्डले छलफल गरेको बुझिएको छ।