माओवादीले किन ल्यायो नयाँ वेबसाइट, यस्तो छ प्रचण्डको निष्कर्ष
सत्ता गठबन्धनबाट सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ । लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो ।
वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।
किन खोल्यो माओवादीले नयाँ वेबसाइट
प्रचण्डले हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाउन सामाजिक सञ्जाल प्रयोग हुन सक्ने बताएका छन्। माओवादी केन्द्रको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले त्यसका लागि सामाजिक सञ्जालको सदुपयोग या दुरुपयोग हुन सक्ने बताए।
उनले इतिहासको निर्माता जनता भएकाले जनता नै हिरो भएको बताए। ‘इतिहास निर्माण गर्ने असली हिरो जनता नै हो’, उनले भने, ‘अलौकिक वा त्यस्तै प्रचारबाट तथाकथित रुपमा तयार पारिएका मान्छे हिरो होइनन्। श्रमजीवी जनता हिरो हुन्।’
प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय पहिचानलाई अझ सुदृढ गर्न र राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्न सरकार गम्भीर रुपले लागिरहेको दाबी गरे।
नेपालको सन्तुलित र असंलग्न परराष्ट्र नीतिलाई अझ सुदृढ गर्ने, सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउने र नेपालको हितको निम्ति अधिकतम लाभ प्राप्त गर्ने वातावरण बनाउने कुरामा सरकार धेरै नै गम्भीर भएको उनले थपे। ‘मैले त कहिलेकाहीँ भन्छु, यो पटक हामी गर्व गर्न लायक ठाउँमा छौँ’, उनले भने।
प्रचारमा पछि पर्यौं
प्रचण्डले प्रचारको मामिलामा माओवादी केन्द्र निकै पछि परेको पनि स्वीकार गरेका छन् । उनले प्रविधिमैत्री पार्टी निर्माण हुन नसक्दा जनतालाई सचेत बनाउन, जनमत सिर्जना गर्न नसकेको स्वीकार गरेका हुन् ।
‘चुनावमा लाखौं खर्च गर्न तयार भयौँ तर आइटी क्षेत्रमा प्रयोग गर्न दाँतबाट पसिना आयो । चुनावमा गरेको खर्चले पार्टीले केही फाइदा भएन । त्यसैलाई विचार गरेर केन्द्रीय समितिले निर्णयबाट आइसिटी फोरम बनाएको हो’, उनले भने ।
परम्परागत ढंगले प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्ने युगमा आइपुगेको भन्दै सामाजिक संजाललाई सचेततापूर्वक प्रयोग गर्नुपर्ने उनले बताए ।
सामाजिक सञ्जालका कारण अहिले काम भन्दा प्रचारले महत्व पाइरहेको भन्दै उनले भने, ‘धेरै मिहेनत गरेर विकास गरे पनि अर्थ राख्दैन। जनता सन्तुष्ट छन् भन्ने ठानियो भने त्यो भ्रम हुनेछ। धेरै रोजगारी सिर्जना गरिएका कारण युवा विदेश जाँदैनन् भन्ने सोचियो भने त्यो पनि भ्रम हुने छ।’