विप्लव निष्कर्ष : माओवादी नमिली हुँदैन

मूलखबर संवाददाता
काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको व्यवस्थाबाटै अवस्था परिवर्तन गर्ने भन्ने नयाँ दलको धारणा गलत भएको बताएका छन् ।​ व्यवस्थामै त्रुटी रहेकोले रवि लामिछाने सरकारको नेतृत्वमा आए पनि अहिलेको समस्या समाधान नहुने उनको तर्क छ ।

रोल्पाको माडी गाउँपालिकाको घर्ती गाउँमा आइतवार आयोजित कार्यक्रममा विप्लवले अहिलेकै व्यवस्थाबाट जनताको अवस्था परिवर्तन गर्ने भन्ने कुरा जनतालाई फेरि अँध्यारो सुरुङमा राख्न खोजेजस्तै हुने बताएका हुन् । ‘व्यवस्थामै त्रुटी छ, शेरबहादुर देउवा, केपी शर्मा ओली या प्रचण्डलाई उछिट्याएर रविजी आएर समाधान हुँदैन’ विप्लवले भने, ‘व्यवस्था ठीक छ, अवस्था परिवर्तन गर्ने कुरा फेरि जनतालाई अँध्यारोमा राख्ने काम हो ।’

 अहिलेको शासन प्रणाली, न्यायप्रणाली, बैंकिङ प्रणाली कायम राखेर जनताको अपेक्षा सम्बोधन गर्न नसकिने उनले दाबी गरे । ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेको, पञ्चायतका कानून ज्यूँ का त्यू छ, १९ सालको कानून अनुसार काम गर्नु परेको छ, कसरी गर्ने भन्नुभयो’ विप्लवले भने, ‘पुरानो कानूनले काम गर्न दिएन भने पुरानो कानून र व्यवस्थालाई बढारौं न भनेर हामीले भनिरहेका छौं ।’

विप्लवले हण्डर ठक्कर खाएर दुर्गा प्रसाईं राजतन्त्रको नारा लिएर सडकमा आए पनि त्यो एजेन्डा अब असान्दर्भिक भइसकेको बताए । ‘नेपाली जनतालाई झोक चलेको भरमा कोही दुर्गा प्रसाईंसँग हिँडे पनि नेपालमा फेरि राजतन्त्र फर्किने कुरा सम्भव होइन, नेपाली जनताले चाहेको समाधान त्यो होइन’ उनले भने ।

माओवादी नमिली हुँदैन
विप्लवले माओवादीलाई अपराधी करार गर्ने खेल सुरू भएको पनि बताएका छन् ।

“माओवादीलाई शून्य बनाउने खेल सुरू भएको छ, अपराधी करार गर्ने खेल सुरू भएको छ । साम्राज्यवादीहरूले माओवादीलाई सिध्याउनुपर्छ भनिरहेका छन्,” विप्लवले भने ।

देशमा सबैभन्दा खराब शक्ति माओवादी नै भएको भ्रम फिजाइएको भन्दै उनले त्यसको प्रतिवाद गरे । “माओवादीलाई सिध्याउने भनेर मज्जैले लागेका छन् केही शक्तिहरू । बाहिर जनतामा सबै कमजोरीहरू माओवादीले नै गरेको हो भन्ने बनाउन खोजिएको छ । तर, त्यसो होइन । यो भ्रम मात्रै हो,” उनले भने ।

उनले वर्तमान व्यवस्थाको मुख्य दाँवधारी माओवादी नै जिकिर गरे । “अन्य दलहरूको पनि निश्चितरूपमा सहयोग रह्यो । तर, मुख्य त यो व्यवस्था प्राप्त गर्ने सन्दर्भमा माओवादीले नै योगदान गरेको छ । तर, अरुलाई पचेको छैन,” उनले भने ।

क्रान्तिकारीहरू सकिने र दलालहरूले सत्ता प्राप्त गर्ने क्रम चलिरहँदा माओवादीहरू मिल्नुको विकल्प नरहेकोसमेत उनले बताए ।