एमालेको संकल्प यात्रामा छानिएको बाटो, कस्तो छ मध्यपहाडी लोकमार्ग

मूलखबर संवाददाता
काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गर्दै छ।

तीन दिनपछि अर्थात् मंसिर १४ देखि तीन सातासम्म मध्यपहाडी लोकमार्ग अभियान चलाउने एमालेको तयारी छ।

 कार्यक्रम मङ्सिर १४ गते सुरु भएर २१ गते समापन हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए। यात्राको शुभारम्भ बैतडीको झुलाघाट पुलबाट अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलबाट गर्नेछन्।

झुलाघाट र चिवाभञ्ज्याङ दुबैतर्फ भारतसँग सीमा जाेडिएका ठाँउ हुन् भने यो लोकमार्गको ट्र्याक बनेसँगै पहाडै–पहाड पूर्वपश्चिम गर्ने विकल्प खुलेको छ ।

पहाडका अनेकन बस्ती, जनजीवन, कृषि, सस्कृति मिसिएका जिल्लाहरू छुने यो यात्रालाई एमालेले निक्कै महत्पूर्ण मानेको छ । ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको यात्रामा १५ किसिमका कार्यक्रमहरू हुने एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । छवटा प्रदेशलाई छुने यो सडकले २६ जिल्लाका २ सय २५ भन्दा बढी बस्तीलाई जोडेको छ ।

‘जनताको माझ जाने भएकाले जनसम्पर्कको दृष्टिले यो यात्रा महत्पूर्ण हुन्छ । पहाडका विकासका चुनौती पहिचान गरेर समाधानका विषयको खोजी हुनेछ । हामीले छवटा मुख्य लक्ष्य सार्वजनिक गरिसकेका छौँ’, एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘मध्यपहाडीका कतै सडक घुमाउरो छन्, कतै अरुसडकसँग ओभर ल्याप भएका छन्, थुप्रै ठाँउमा नमिलेको देखिन्छ । यसबारे नयाँ ढंगलेधेरै बहस छलफल गर्छौं । जनतामा यसले ठूलो जागरण ल्याउछौँ । समृद्धिका लागि संकल्प यात्रा भनेका छौँ । यो यात्राले देश बन्छ भन्ने नयाँ अठोट निर्माण गर्छ ।’

विभिन्न केन्द्रमा १५ देखि १८ वटा सभा हुनुका साथै बाटोमा साना साना भेला गर्ने बताइएको छ । २०७५ माघमा डा. बाबुराम भट्टराईको नेतृत्वमा एक महिने जनसंवाद अभियान चिवाभञ्ज्याङबाट सुरु भएको थियो । अहिले एमालले झुलाघाट तीन साताको यात्रा प्रारम्भ गर्न लागेको छ ।

कस्तो छ लोकमार्ग
यात्रामा सहभागीले लोकमार्गको १ हजार ८ सय ७९ किलोमीटर पुरै कालोपत्रे सडकको यात्रा गर्न भने पाउदैनन् । कतै कालोपत्रे, कतै कच्ची, कतै ग्राबेल त कतै अरु राजमार्गको यात्रा गर्नुपर्ने हुन्छ । आर्थिक बर्ष २०६४/६५ मा निर्माण सुरु भएको यो आयोजनाले पूर्णता पाएको छैन । आव ०६९/७० मा राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएर आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने राखेको लक्ष्य पूरा भएन ।


मध्यपहाडी सडक बनेपछि पहाडका गाँउ गाँउमा सडक सुविधासँग विकासका आयमहरू खुलेको देखिन्छ । केही अघिनै यो सडक बनेको भए पहाडको बसाईसराई यति धेरै नहुने कतिपयले बताउने गरेका छन् । पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, बाग्लुङ, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजारकोट, दैलेख, अछाम जस्ता जिल्लाका बासिन्दाले बढी सुविधा पाएकोे देखिन्छ ।

पूर्वदेखि पश्चिमसम्मका विभिन्न गाँउ गाँउ हुदैँ बनेको यो सडकले सडक सुविधामात्र नभई अन्य विकासका आयमहरू पनि खोलेको छ । कतै नयाँ शहर बनेका छन् भने अन्य विकास संचरना बनाएको छ । शहर जोड्न सजिलो र सहज भएको देखिन्छ । पहिले सडक सुविधा भएका जिल्लामा भन्दा पनि दुर्गम जिल्लामा बढी सुविधा दिएको तथा जनताले राहत पाएको देखिन्छ । यसले विभिन्न जातजाति, संस्कृतिलाई पनि जोडेको छ । पूर्वको धाँनाचदेखि पश्चिमको देउडासम्मलाई सडकको माध्यमबाट जोडेको छ । लोकमार्गको चिवाभञ्ज्याङलाई प्रारम्भ विन्दु मानिएको छ ।

सुविधा, अवसर सिर्जना गरे पनि सडकले भने पूर्णता पाएको छैन् । मध्यपहाडी आयोजना निर्देशनालयका अनुसार ७२ दशमलव ७० प्रतिशतकाम सम्पन्न भएको छ । ४ सय ७७ किलोमीटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । मध्यपहाडीबाट ९ सय ४० किलोमीटर र अन्य आयोजनाको ४ सय ६२ किलोमीटर कालोपत्रे भएको छ । लोकमार्गका पर्ने १ सय ३७ मध्ये १ सय २ वटा पुल सम्पन्न भएका छन् । लोकमार्गमा हालसम्म ६४ अर्ब ७६ करोड बजेट खर्च भएको भएको छ ।

अन्य आयोजनाबाट बनेका ४ सय ६२ किलोमीटर सडकलाई मध्यपहाडी स्टेण्डर (दुईलेन) बनाउने प्रक्रिया नै सुरु भएको छैन । सबै खण्डका ठेकेदारले समयमा काम नगर्ने साझा समस्या रहेको छ । पहिलो सडक भएका भन्दा सडक नभएका ग्रामीण जिल्लामा उत्साह देखिन्छ ।

बतैडीको झुलाघाटमा नेपाल–भारतमा जोड्ने पुल बन्न सकेको छैन । महाकाली नदिमा पुल नबन्दा भारतसँगको सिधा सम्पर्क हुन सकेको छैन । यहाँ रहेको झोलुङ्गेपुलबाट मान्छेले बोकेर सामान ओसार प्रसार गरेका छन् । नेपालको बैतडी र भारतको पिथौरागढ जोड्ने पुल बनाउन माग गरिएको वर्षौँ वित्दा पनि निर्णय हुन सकेको छैन । पुल माग्दैँ एकपल्ट स्थानीय वाणिज्य संघको अगुवाइमा २९ दिन लामो रिले अनशनसमेत भएको थियो ।

 

झुलाघाटदेखि अछामाको चौखुट्टेसम्म २ सय ४३ किलोमीटर पुरानै सडक रहेको छ । बैतडी, डडेलधुरा, हुदैँ आछामा चौखुटेआइपुग्छ । चौखुटेबाट पूर्वी रुकुमको पाटिहाल्ने खण्डको ४ सय ४० किलोमीटर खण्डमध्ये ३ सय ६४ किलोमीटर कालोपत्रे भएको छ । जाजरकोटको मन्ताभिरले गर्दा बाटो बनाउन समस्या भएको छ । पश्चिम रुकुमको चौरझारी र जाजारकोट जोड्ने भेरी नदिमा पुल नबन्दा जाजारकोटको सिम्ले हुदैँ घुमेर यात्रा गर्नुपर्ने हुन्छ । भेरी पुल पुरानो ठेकेदारले नबनाएपछि ठेक्का तोडेर नयाँ लगाइएको दैलेख कार्यालयकी प्रमुख कुशलता न्यौपानेले बताइन् । यो खण्डले पाटिहाल्ने लुकुमगाँउ, रुकुमकोट, मुसिकोट, चौरझारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला, साइजिउला, बेलखेत, बिनायक, साफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाट जस्ता ठाँउलाई छुन्छ ।

रुकुम र बाग्लुङको सिमाना पाटिहाल्नेबाट कास्कीको रुडिखोलाको २ सय ५० किलोमीटर खण्डमध्ये ५४ किलोमीटर कालोपत्रे गर्न बाँकी छ । बाग्लुङ जिल्लामा मात्र लोकमार्गको १ सय ३६ किलोमीटर सडक पर्छ । लोकमार्गको सबैभन्दा लामो सडक यहि जिल्लामा पर्छ । यीमध्ये पोखराको ६० किलोमीटर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरी सकिएको लोकमार्गका पर्वत कार्यालयका सूचना अधिकारी पवन सुवेदीले जानकारी दिए । भोर्लेटार, पोखरा, बागलुङ्ग, बुर्तिवाङ्ग, वाग्लुङ्गलाई छुन्छ । बुर्तिबाङ द्वन्द्वपछि जागेको बजार हो ।

लोकर्मागको लम्जुङ–नुवाकोट खण्डमा २ सय ३५ समस्या बढी देखिन्छ । यहाँको धादिङमा एलाइमेन्टकै टुङ्गो लागेको छैन । यो करिब ३० किलोमीटर सडक कताबाट लैजाने टुङ्गो भइसकेको छैन । गोरखा कार्यालयका सूचना अधिकारी विदुर सुवेदीका ५५ किलोमीटर कालोपत्रे सम्पन्न भएको छ । बाँकिमा ठेक्का लागेको छ । लम्जुङको सुन्दरबजार, भोर्लेटारमा बस्तीका कारण काम हुन सकेको छैन । नुवाकोटको पिपलटार–देउडी खण्डमा २० किलोमीटर खण्डमा वनका कारण काम अघि बढ्न नपाएको बताइएको छ । यो खण्डमा ठेकेदारले समयमा काम नगर्दा समस्या थपिएको छ ।

सिन्धुपाल्चोक–खोटाङ खण्डकमा कालोपत्रे गर्न धेरै बाँकी छ । यहाँको ३ सय ४० किलामीटरमध्ये १ सय ३९ किलोमीटर कालोपत्रे भएको छ भने २ सय १ किलोमीटर प्रक्रियामा रहेको लोकमार्गको रामेछाप कार्यालय प्रमुख सजना अधिकारीले बताइन् । रामेछाप, खोटाङ, काभ्रेमा कालोपत्रे गर्न बाँकी छ । ‘कालोपत्रे नभएका ठाँउमा पनि यात्रा गर्न सकिन्छ । धेरैठाँउ कालोपत्रेको काम भइरहेको छ । ट्र्याक खोल्ने, स्तर उन्नत्तिका ठेक्का समयमा नसकिदा समस्या भयो।’ इन्जिनियर मनिष सिंहले भने, ‘खोटाङको १० किलोमीटर सडक कालोपत्रे गर्ने ठेक्का तोडेर फेरि लगाउनु पर्‍यो ।’

खोटाङ र भोजपुरको सिमाना चखेवादेखि पाँचथरको चिवाभञ्ज्याङ खण्डको ३ सय ८६ किलोमीटरमध्ये ७४ किलोमीटर कालोपत्रे गर्न बाँकी छ । फिदिम कार्यालयका इन्जिनियर नविन शाहका अनुसार तेह्थुममा २४ र पाँचथरमा ५१ किलोमीटर सडक कालोपत्रेगर्न बाँकि रहेको छ ।

सुरुवाती विन्दु चिवाभञ्ज्याङदेखि थर्पुसम्मको ५१ किलोमीटर ठेकेदारकले काम नगर्दा समस्यामा परेको छ । चिवाभञ्ज्याङमा भारतको सिक्किमबाट पनि सडक बनेको छ । यो सिक्किमबाट नेपालसँग जोडिएको एकमात्र सडक हो । तेह्रथुमको दुई खण्डको काम नभएपछि ठेक्का तोड्ने निर्णय भए पनि अदालतमा पुगेर रोकिएको छ । यो सडक भएर पूर्व पश्चिमको संस्कृतिजोडिनुका साथै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने देखिन्छ ।