राष्ट्रिय स्वतन्त्रताको संरक्षणकाे नेतृत्व माओवादीले गरिरहेको छ- प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले एकथरी मानिसहरु जातीय रुपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक अतिवाद र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए।
उनले राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने कामको नेतृत्व माओवादीले गरिरहेको दाबी गरे।
फरक प्रसंगमा प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताए।
खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताउँदै उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको पनि बताए।
‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो। भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त ग¥यौँ,’ प्रधानम्न्त्री प्रचण्डले भने, छकार्यकर्ता प्राप्त गर्यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो।’
कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्नेकुराको भुमिका स्व.पाख्रिनले गरेको बताए।
भारतमा संगठन बिस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरुको भुमिका बढी महत्वपूर्ण रहेको उनको भनाइ थियो।
‘सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौँ नेपालीहरूलाई संगठित र आन्दोलित गर्नेकुराको भूमिका रह्यो। त्यसो गर्नेमा राजनीतिक नेताहरूको भन्दा कमरेड खुशीराम पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरुको भुमिका बढी महत्वपूर्ण भयो। यसले निकै छिटो गतिमा नेपालीहरुलाई संगठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्यो,’ उनले भने।
प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उनको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त समेत गरे।