व्यवस्था परिवर्तनको बेमौसमी ध्वाँसः को हुन् दुर्गा प्रसाईंको पछि लागेकाहरू !

मूलखबर संवाददाता
काठमाडौं

ज्ञानेन्द्र शाहले जननिर्वाचित संसद विघटन गरेर आफ्नै नेतृत्वमा निर्दलीय सरकार सुरु गरेपछि सात दल र माओवादीबीच सहमति भएर तेस्रो जनआन्दोलन भएको थियो।

नेपालको राजनीतिको कोशेढुंगा बनेको बाह्र बुँदे सहमतिकै उपज प्राप्त उपलब्धी वर्तमान संघीय गणतान्त्रिक व्यवस्था स्थापना भएका हुन्। तर त्यही जनआन्दोलनको बलमा स्थापित व्यवस्था उल्ट्याउन यतिबेला मेडिकल माफिया भनेर चिनिएका व्यवसायी दुर्गां प्रसाईंले आन्दोलन थालेका छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा काठमाडौंको बल्खुमा विहीबार झण्डै १० हजारको हाराहारीमा भीड जम्मा भएको अनुमान छ।

मुख्यगरी प्रसाईंले राष्ट्र, राष्ट्रियता, हिन्दू धर्म, बैंक तथा वित्तीय संस्थाको मनोमानी र भ्रष्टाचारविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । मुख्यरूपमा यी विषयलाई उनले प्राथमिकतामा राखेका थिए । तर, बिहीबार एमालेनिकटको युवा संघले पनि कार्यक्रम गरेपछि सरकारले प्रसाईंलाई बल्खु र बस्नेतलाई तीनकुने क्षेत्र तोकिदिएको थियो ।

प्रसाईंको अपिलअनुसार देशका विभिन्न स्थल र उपत्यकाबाट ठूलो संख्यामा भीड बल्खुको प्रदर्शनमा पुगेको थियो । तर, प्रसाईंको आन्दोलनमा बैंक वित्तीय संस्थाका पीडितभन्दा हिन्दू राष्ट्र र राजतन्त्रवादीको नारा चर्को सुनियो ।

प्रसाईंको अपिलपछि गणतन्त्रमा नेताले निकास र विकास नदिएको, रोजगारी सिर्जना नगरेको, उद्यम र रोजगारीको प्रबन्ध नगरेको गुनासो गर्नेहरू प्रदर्शनमा सहभागी भएका थिए । फरक दलमा आस्था राख्ने पनि दलहरूको गतिविधिले प्रसाईंको अपिललाई मन पराएर आएको भेटिए ।

यसअघिका सडक आन्दोलनमा प्रायः अघिअघि पुरुष र पछिपछि महिला देखिन्थे। तर मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले काठमाडौँका विभिन्न स्थानबाट निकालेको जुलुसमा पुरुषका अघिअघि गृहिणी महिला देखिए।

तीमध्ये कतिपय महिला घरमा ससाना बालबच्चा छोडेर सडकमा होमिएका थिए। कतिपय त गर्भवती भएको अवस्थामा आन्दोलन गर्न काठमाडौँ आएका पनि भेटिए। आखिर किन यी महिला ज्यानको बाजी लगाएर आन्दोलनमा आए त? यसको मुख्य कारण थियो– बैंक, लघुवित्त, सहकारी लगायतका वित्तीय संस्थाको ऋणबाट मुक्ति पाउने आशा।

सबैले बजाउने मादल

दुर्गा प्रसाईंले भाषण गरिरहेको समयमा एक हुल मानिस लिएर सांसद ज्ञानबहादुर शाही पनि प्रसाईंको मञ्चमा उक्ले । प्रसाईंले आफूले भाषण गर्न छोडेर शाहीलाई पालो दिए ।

शाहीले आफ्नो स्वार्थमा भाषण गरे । प्रसाईंको आन्दोलनमा लघुवित्तका ऋणी, सहकारीपीडित, बैंकका ऋणी र राजा, हिन्दु राष्ट्रको माग राख्नेहरू सहभागी थिए । तर, शाहीले त्यस बारेमा खासै चासो राखेनन् । उनले राजा ल्याउनुपर्ने र गणतन्त्र फाल्नुपर्ने भाषण गरे । उनी व्यवस्थामा केन्द्रित भए । उनी यो व्यवस्थाको विकल्पमा राजा ल्याउनुपर्ने जोडदार माग सडकबाट राखेर अलप भए ।

जबकि उनको पार्टी राप्रपाले आधिकारिक रूपमा यो आन्दोलनलाई समर्थन गरेको घोषणा गरेको छैन । तर, सस्तो चर्चामा रमाउने शाहीले भने चार/पाँच हजारको मासबीच भाषण गर्ने मौका पाए ।

शाही त सांसद हुन् । केही सर्वसाधारण र युवाहरूले पनि राजा ल्याउने भनेकाले प्रसाईंलाई समर्थन गर्न आएको बताए । रातो टिसर्टमा आरटीएफ (रोयल टाइगर्स फोर्स) लेखेका युवाहरू पनि आन्दोलनमा सहभागी थिए । प्रसाईंले हिन्दु राज्य र राजा ल्याउने माग राखेकाले समर्थन गर्दै आन्दोलनमा आएको मुनिन्द्रराज भण्डारीले बताए ।

आन्दोलनमा अघिअघि देखिएका कतिपय महिला आफ्नो ऋणको ब्याज मात्रै मिनाहा भइदेओस् भन्ने चाहना राखेर काठमाडौँ आएका छन्। चितवन रामनगरबाट आएकी ४५ वर्षीया देवीमाया लम्साल त्यही आशामा छिन्। आफ्नो ऋण कति छ त्यो भने खुलाउन नचाहेकी उनले व्यवसाय डुब्दा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेको सुनाइन्।

कावासोती–२, नवलपुरमा जुत्ताचप्पल व्यवसाय गर्दै आएकी ५६ वर्षीया सीता खनाल पनि आन्दोलनमा अघिअघि थिइन्। उनी एकल महिला हुन्। कोरोना महामारीमा आफ्नो करिब एक करोड रुपैयाँ नोक्सानी भएको उनको गुनासो छ। अहिले आफू व्यवसायमा सक्रिय हुन तयार भए पनि देशको वातावरणले साथ नदिएको उनले बताइन्। “लघुवित्तमा पुर्जा धितो राखेर नुन खाएका छौँ। ऋण लिएका धेरै असहायहरू आफ्नो जीवन समाप्त गर्न बाध्य छन्। यस्तो अवस्थाको अन्त्य होस् भनेर आन्दोलन गर्न आएकी हुँ,” खनालले भनिन्।

यो आन्दोलन कुनै व्यक्तिसँग मात्रै नभएर राज्यसँगको लडाइँ भएको ठान्ने उनले भनिन्, “गणतन्त्रमा हामी स्वतन्त्र भएनौँ। हामीले आफ्ना माग राखेर आन्दोलन गर्दा पनि सरकारले हस्तक्षेप गरेको छ। यो देशमा गणतन्त्र आवश्यक छैन। नेता मात्रै धनी हुने गणतन्त्र फाल्न पनि हामीले लडाइँ गरेका हौँ।”

भर नभएका दुर्गा प्रसाईं
दुर्गा प्रसाईं आफैँमा विवादित र रंग बदलिरहन सक्ने पात्र हुन् । हिजो माओवादी थिए, पछि एमाले भए अहिले राजावादी भएका छन् । केही वर्षअघि कम्युनिष्टका शक्तिशाली अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै निवासमा ‘मार्सी भात’ खुवाएर वार्ता गराएपछि चर्चामा आएका थिए ।

पूर्व माओवादी कार्यकर्ता प्रसाईं २०७८ मंसिरमा एमालेको केन्द्रीय सदस्यसमेत बने, केपी शर्मा ओलीको निगाहमा । एमाले केन्द्रीय सदस्य हुँदा हुँदै पूर्व राजा ज्ञानेन्द्रको पछि लाग्दै राजतन्त्रको वकालत गर्न थालेपछि २०७९ फागुनमा पार्टीबाट निस्कासित भएका थिए ।

उनको स्वार्थ पूरा भए भोलि अर्कै रुप फेर्लान् तर उनीसँग लागेका भुइँमान्छेलाई ‘पर्दा पछाडिको भूमिगत समूह’ ले संगठित बनाएर हिँड्न थाल्यो भने राज्यका लागि ठूलो टाउको दुखाई हुन सक्नेछ ।