प्रधानमन्त्री प्रचण्डको प्रष्ट सन्देशः इतिहासले मिल्काएकाहरू फर्किन सक्दैनन्

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको मञ्चबाट गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गरेको भन्दै त्यस्ता सम्भावना नै नरहेको बताएका छन्। बुधबार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकथरी तत्वहरु अहिले गरेको एउटा दुस्साह कहिले पूरा नहुने दाबी गरे।

उनले भने, ‘यो उपलब्धि सानो दुख, त्याग र बलिदानले प्राप्त गरेको होइन। सबै ठुला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्वहरुले फेरि फर्कने जमार्को गर्छन्। उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्ने कोशिस गर्छन्। त्यो जहाँ पनि हुने गरेको छ। अहिले त्यही अनुसार निरंकुशतावादी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दैछन्।’

अहिले ल्याएको उपलब्धिमा शान्तिपूर्ण र सशस्त्र सबैखालको आन्दोलनको योगदान गरेको बताए।

उनले भने, ‘एकथरी तत्वहरु अहिले एउटा दुस्साह, दिवा सपना र ठूला दिग्भ्रम फैलाउने कसरतमा छन् त्यो कहिले पूरा हुनेवाला छैन। नेपालको इतिहासमा चाहे राणा शासन विरोधी आन्दोलन होस् निरंकुश तानाशाही पञ्चायति व्यवस्था विरुद्धको आन्दोलनमा होस् चाहे राजतन्त्र विरोधी आन्दोलनको कुरा होस्। चाहे प्रत्येक क्रान्तिका क्रममा होस् वा प्रतिक्रान्ति रोक्नेृ क्रममा होस्। नेपालका प्रगतिशिल जनताको त्यसमा पनि काठमाडौं भक्तपूर र ललितपुरका नेवा समूदायको अन्तिममा निर्णायक भूमिका हुने गरेको छ।

नेपाल संवत सम्बन्धी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको परिवर्तन साना दुःखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्। हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’

प्रचण्डले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको उल्लेख गरे। व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।’

प्रधानमन्त्रीले नेपाल संवत नेपालको मौलिक संवतभएको बताए। उनले भने, ‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत हो। यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनु पर्दछ।’ कार्यक्रममा राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए।

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठले गणतन्त्रको विरोध गर्नेहरूलाई हिजोका दिन सम्झिन आग्रह गरे। उनले भने, ‘गणतन्त्रको विरोध गर्नेहरूलाई म प्रश्न गर्न चाहन्छु– के हिजोको राजतन्त्र ठीक थियो त ? हिजोको राजतन्त्रले गरेको निर्मम दमन र अत्याचार भुल्न सकिँदैन। यो व्यवस्थाको विरोध गर्नेहरूका विरूद्ध दृढतापूर्वक उभिन्छौँ।’
कार्यक्रममा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अरू हुन नसक्नेमा जोड दिँदै त्यसको रक्षार्थ दृढतापूर्वक अगाडि बढ्ने बताए।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बहुदलीय लोकतान्त्रिक व्यवस्थाले मात्रै सबै भाषा, जाति, संस्कृतिको रक्षा गर्नसक्ने बताउनुभयो। उन भने, ‘बहुदलीय लोकतान्त्रिक गणतन्त्रले नै सबैको विचार र भावनाको प्रतिनिधित्व गर्न सक्छ। हाम्रो प्रधानमन्त्रीले सबै दल र भावनाको नेतृत्व गरिरहनुभएको छ। यस्तो प्रतिकूल समयमा पनि नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लिनु सामान्य कुरा होइन।’

कांग्रेसका नेता भीमसेनदास प्रधानले भने, ‘नेपालले उत्कृष्ट संविधान पाएको छ। तपाईहरू सबैलाई थाहा छ नेपाली जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था हामीले नै ल्याएको छ। यही व्यवस्थाले विद्यादेवी भण्डारी, डा। रामवरण यादवहरूलाई राष्ट्रपति बनायो। राज्यका हरेक क्षेत्रमा महिलाहरूको राम्रो नेतृत्व छ। सामाजिक न्यायको अभ्यास भएको छ। यस्तो व्यवस्था संसारका कुन मुलुकमा छ ? हाम्रो संविधान संसारकै प्रगतिशीलमध्ये एक छ। त्यसैले यसको रक्षाका निम्ति हामीले जस्तासुकै मूल्य चुकाउन तयार छौँ।’

नागरिक अगुवा मल्ल के। सुन्दरले राजाको शासनकालमा नेपाल संवत् मनाउँदासमेत नेवार समुदायमाथि निर्मम दमन गरिएको दाबी गरे।