कसरी राजाबादी हुन पुगे दुर्गा प्रसाईं, यस्तो छ उनको बैंक ठग्ने तर जेल नजाने प्रपञ्च
बैंकको ऋणमा डुबेपछि अनेक तिकडम गरिरहेका दुर्गा प्रसाईंले नागरिक मुक्ति आन्दोलनको नाम दिएर बिहीबार काठमाडौंमा देशभरका मानिस जम्मा गर्दै छन्। दुई लाख मान्छे जम्मा गर्ने दाबी सहित आयोजना भएको अभियानमा बुधबार साँझसम्म मानिसहरू जम्मा हुने क्रम जारी छ।
तीन दिन गर्ने भनिएको आन्दोलनमा ठूलो खर्च हुने आकलन गरिएको छ। आन्दोलनका लागि दुर्गा प्रसाईं आफैँले २० करोड खर्च गर्ने तयारी गरेको उनीनिकटहरू बताउँछन्।
कार्यक्रमको लागि ठूलो संख्यामा मानिसलाई काठमाडौं उतार्न प्रसाईंले सबै शक्ति लगाएका छन्। भीड देखाएर सरकारलाई तर्साउने योजनामा रहेका प्रसाईँ त्यही बलमा राजनीतिमा फर्कने दाउमा पनि छन्।
उनले नेताहरुकै कारण व्यवस्थामाथि उत्रनु परेको दाबी उनले गरे।
‘२०६८ सालदेखि सम्बन्धन दिने सहमति गरेर अत्याधुनिक भवन बनाइसकेपछि मैले विद्यार्थी पढाउन पाइनँ। म जति मरेको मोन्छे को होला?’ प्रसाईंले भने, ‘मलाई सरकारले मार्न खोजेको होइन? यो मेरो व्यथा कसले सुन्छ? मैले नेपालमै नेपालीलाई राख्छु, यहीँ डाक्टर, नर्स पढाउँछु भन्दा किन मलाई नदिएको?’
कुनै समय कांग्रेसमा आबद्ध प्रसाईं, २०५७ सालतिर माओवादी बनेका थिए। तर, मेडिकल कलेजको सम्बन्धन पाउनकै लागि उनी पछिल्लो समय एमाले बने र अध्यक्ष केपी ओलीले त उनलाई केन्द्रीय सदस्य नै बनाइदिए। दुई वर्ष कुर्दा पनि नपाएपछि उनी एमालेविरुद्ध नै खनिएका छन्। अनि विरक्तिएर पछिल्लो दिन व्यवस्था विरोधी धारणा राख्दै राजावादीलाई समर्थन गर्न पुगेका छन्।
बैंक ठगेर जेल नजाने प्रपञ्च
हुन त दुर्गा प्रसाईं ठग हुन् तर उनी सामाजिक सञ्जालमा भाइरल छन्। उनले अन्टसन्ट बोलेको भिडिओ पोस्ट हुन्छ। लाखौँले हेर्छन्, सयौँले समर्थन गर्दै कमेन्ट गर्छन् । किनकि भीड जम्मा पार्न मात्र होइन, उत्तेजित पार्न पनि खप्पिस छन् उनी ।
दुर्गा प्रसाईंको हरेक भाषणमा नछुट्ने वाक्य हो ‘नेताहरूको पैसा लुट्नुपर्छ’ । उनी भन्छन्, ‘शेरबहादुरको घरमा दुईसय बोरा जति पैसा छ । केपी ओलीका घरमा त्यति नै । प्रचण्डको घरमा त्यति नै । उनीहरूका घरमा हामीले बैंकमा जम्मा गरेको पैसा छ, तपाईँहरूले छिरेर निकाल्नुपर्छ ।’
नेताले करोडौँ पैसा थुपारेको आरोप लगाउने दुर्गा प्रसाईंले भने साढे पाँच अर्बभन्दा बढी रुपैयाँ ऋण लिएका छन् । जुन पैसा तिर्न नसक्ने अवस्थामा पुगेका उनले उम्कने बाहानामा नागरिक आन्दोलन भन्दै भीड उचालिरहेको आरोप छ ।
कति छ उनको बैंक ऋण
दुर्गा प्रसाईंले आठवटा वित्तीय संस्थाबाट झन्डै साढे साढे ५ सय करोड ऋण लिएका छन् । ६ वटा वाणिज्य बैंक, एक विकास बैंक र एक फाइनान्सबाट उनले ऋण लिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल, बीएन्डसी मेडिकल कलेज, होटल एड्रियन र शुभम् हाउजिङको नाममा उनले ऋण लिएका हुन् । उनले गत पुसदेखि कुनै बैँकमा साँवा किस्ता र ब्याज तिरेका छैनन् ।
नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार दुर्गा प्रसाईंले वित्तीय संस्थाबाट ११ करोडदेखि एक सय करोडसम्म ऋण लिएका छन् ।
प्रभु बैंकबाट क्यान्सर अस्पताल र बीएन्डसी मेडिकल कलेज तथा होटेलका लागि १ अर्ब २० करोड भन्दा बढी ऋण लिएका छन् । तत्कालीन जनता बैंक, हालको ग्लोबल आइएमई बैंकमा १ अर्ब भन्दा बढी ऋण तिर्न बाँकी छ ।
तत्कालीन एनसीसी हालको कुमारी बैंकबाट १ अर्बभन्दा बढी ऋण लिएका छन् । बी एन्डसी मेडिकल कलेजको नाउँमा कुमारी बैंकबाट ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा ३० करोड गरी १ अर्ब ऋण छ ।
तत्कालीन नेपाल बङ्गलादेश बैंक तथा हालको नबिल बैंकबाट ७६ करोड रुपैयाँ ऋण छ । दुर्गा प्रसाईंले राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड ऋण लिएका छन् । तत्कालीन मेगा बैंक हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड रुपैयाँ ऋण लिएको राष्ट्र बैंक स्रोतको दाबी छ ।
लुम्बिनी विकास बैंकबाट १५ करोड तीस लाख रुपैयाँ ऋण लिएका छन् । र गुडविल फाइनान्सबाट ११ करोड रुपैयाँ ऋण लिएका छन् ।
उनले गत पुसदेखि कुनै पनि बैँकमा साँवा किस्ता र ब्याज तिरेका छैनन् । सामान्य नागरिकले ऋण नतिर्दा कालोसूचीमा राख्ने, फोटोसहित धितो लिलामी गर्ने बैंकहरुले दुर्गा प्रसाईंलाई भने केही भन्ने हिम्मत गरेका छैनन् ।
दुर्गा प्रसाईंले विभिन्न बैंकबाट फेरि पनि अरू प्रोजेक्टको लागि ऋण मागेका थिए । तर, उनी आवद्ध कम्पनीलाई थप ऋण नदिने बैंक तथा वित्तीय संस्थाले अनौपचारिक रूपमा निर्णय गरेका थिए । किनकि उनले ठूलो परिमाणमा ऋण लिइसकेका थिए भने किस्ता तिर्न सकिरहेका थिएनन् ।
फेरि ऋण नपत्याएपछि दुर्गा प्रसाईं बैंक तथा वित्तीय संस्थाविरुद्ध लागेका छन् । बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीलाई कालोमोसो दल्नेलगायतका अराजक गतिविधिमा सक्रिय भएका छन् । त्यस अभियानमा केही मानिसको साथ पाएपछि उनी अर्को आन्दोलनमा लागेका हुन् ।
एमाले हुँदै अहिले राजासहितको हिन्दुराज्य चाहिने अभियानमा हिँडेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरेमा साढे ५ अर्ब रुपैयाँ जोखिममा पर्ने देखिएको छ ।
ऋणीले रकम नतिरेमा बैंकले धितोमा राखिएको सम्पत्ति लिलाम गर्ने र कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्छन् ।
कालोसूचीमा परेका व्यक्ति तथा फर्मले ऋण नतिरेसम्म अर्को बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँदैनन् । तर, उनलाई थप ऋण नदिएपनि सम्पती लिलाम गर्ने प्रक्रिया भने कुनै पनि बैंकले अघि बढाएका छैनन् ।
राजनीतिक शक्तिको दुरुपयोगमार्फत चर्चामा आएका उनले जग्गा किनबेचमा कर छल्ने र ऋण लिँदा बैंकिंङ कसुर हुने चलखेल गरेका छन् । अझ त्यो ऋण नतिरेकाले कारबाहीबाट बच्न जनताको सेन्टिमेन्ट बटुलेर समर्थन जुटाउन अभियान थालेको स्रोतको दाबी छ ।