
भूकम्प पीडितलाई चीनबाट बहुतर्फी सहयोग, सिपिसीले पनि दियो झण्डै ३ करोड
चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।
पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलका प्रतिनिधिहरूलाई रू २ करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।
यहाँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।
भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पु¥याइदिने जानकारी दिएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।
स्थानीय राजनीतिक दल र प्रतिनिधिकाहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताए।
चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गरिसकेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग गरेको बताएका छन्।
भूकम्प लगत्त्तै चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको थियो । चीनले दक्षिण एशियाली आपत्पकालीन सहयोगमार्फत प्रदान गरेको राहत सामग्री नेपाल आइसकेको छ।
यसअघि चीनको युनान प्रान्तले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन् ।
भूकम्पपछि चीनले नेपाललाई बहुतर्फी सहयोग गरेको छ। खासगरी चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निर्देशनमा चीनका विभिन्न अवयबले नेपाललाई सहयोग गरेका हुन्।
