हामीले जानी जानी खाइरहेको विष, हाम्रो खानाले यसरी निम्त्याउँछ घातक रोग
न्यून तथा मध्यम आय भएका मुलुकहरूका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ, नसर्ने रोग । विश्व स्वास्थ्य संगठनका अनुसार यस्ता मुलुकहरूमा वार्षिक एक करोड ५० लाख बढी मानिसको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ ।
नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको नेपाल स्वास्थ्य अुनसन्धान परिषद्को तथ्यांक छ । त्यसमा मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह प्रमुख छन् । हृदयघात, मस्तिष्कघात, मधुमेह, क्यान्सरजस्ता रोगको प्रमुख एक कारण हो, ट्रान्स फ्याट ।
के हो ट्रान्स फ्याट, कसरी असर गर्छ ?
तयारी खानेकुरामा हुने अति खराब चिल्लोको मात्रालाई ट्रान्स फ्याट भनिन्छ । ट्रान्स फ्याट दुईवटा स्रोतबाट पाइन्छ– प्राकृतिक र कृत्रिम ।
प्राकृतिक ट्रान्सफ्याट माछामासु तथा दुग्धजन्य खानेकुराबाट पाइन्छ । चौपायाको मासुमा ३ देखि ९ प्रतिशतसम्म र दुधजन्य खानेकुरामा २ देखि ६ प्रतिशत ट्रान्स फ्याट पाइन्छ । एक वयस्क व्यक्तिले दैनिक दुईहजार क्यालोरी ऊर्जा दिने खाना खानुपर्छ । जसमध्ये १ प्रतिशत अर्थात् २ ग्राम ट्रान्स फ्याटयुक्त खाना खानु पर्याप्त हुने वरिष्ठ हृदयरोग विशेषज्ञ डा. प्रकाशराज रोग्मी बताउँछन् । दुई ग्राम भनेको आधा चियाचम्चाभन्दा कम हुन जान्छ ।
घरमा बनाएका खानेकुरामा यसरी घटाऔँ ट्रान्स फ्याट
कृत्रिमरूपमा पाइने ट्रान्स फ्याटले व्यक्तिको शरीरमा अति नकारात्मक असर गर्छ । कृत्रिम ट्रान्स फ्याटको मुख्य स्रोत धेरैबेर तताएको तेल पटकपटक तताएको तेल तथा वनस्पति घिउ हुन् ।
कोठाको तापक्रममा जम्ने चिल्लो पदार्थहरूमा ट्रान्स फ्याटको मात्रा बढी छ भन्ने पुष्टि हुन्छ । यस्तो तेल वा घिउमा पकाएको खानेकुरामा अत्यधिक मात्रामा ट्रान्स फ्याट पाइन्छ । त्यस्तै जङ्क फुड, बजारमा पाइने तयारी खानेकुरा, बेकरी आइटम ,प्याकेटमा पाइने खानेकुरा, मिठाइ आइटम आदिमा शरीरलाई चाहिनेभन्दा बढी ट्रान्स फ्याटको मात्रा हुन्छ ।
त्यस्तै, उद्योगबाट उत्पादित केही चिल्लो पदार्थहरू जसलाई पार्सियल्ली हाइड्रेजेनेटेड ओइल (पीएचओ) भनिन्छ, ती खाद्यन्नमा केही मात्रामा हाइड्रोजनको अणु मिसाएर बनाइएको हुन्छ । यस्ता खाद्यपदार्थको स्वाद मिठो भए पनि स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै हानिकारक हुन्छन् । घरमा बनाएका खानेकुरामा पनि अत्यधिकरूपमा तारेको खानेकुरामा ट्रान्स फ्याट हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।
ट्रान्स फ्याटले यसरी निम्त्याउँछ घातक रोग
ट्रान्स फ्याटले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाएर प्राकृतिक कोलेस्ट्रोलको मात्रालाई घटाइदिन्छ । रक्तनलीहरूको भित्री भागमा रगतको थेग्ला जमाउने सम्भावना बढाउँछ र रक्तनलीहरू साँघुरिने क्रम बढाउँछ । यसरी ट्रान्स फ्याटले हृदयघात तथा मस्तिष्कघातको सम्भावना बढाउँछ । त्यस्तै मधुमेह, बाथरोगजस्ता समस्या पनि निम्त्याउन सक्छ ।
कसरी घटाउने ट्रान्स फ्याटको प्रयोग ?
बजारमा पाइने खानेकुरामा ट्रान्स फ्याटको प्रयोग थाहा पाउन प्याकेटको बाहिर टाँसिएको लेवल मा ट्रान्स फ्याटको मात्रा पनि लेखिएको हुन्छ । ट्रान्स फ्याटको मात्रा नभएका वा कम भएका खानेकुरा किन्न विशेषज्ञहरू सुझाव दिन्छन् ।
त्यस्तै, घरमा बनाइने खानेकुरामा पनि तोरी, नरिवल, ओलिभ आदिको तेल बढी प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन् । त्यस्तै, गाई भैँसीको घिउमा पकाइएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा कम हुने हुँदा घरमा पनि घिउको प्रयोग गर्नु ट्रान्स फ्याटको प्रयोग घटाउने अर्को उपाय भएको बताउँछन्, वरिष्ठ मुटुरोग विशेषज्ञहरू।
त्यस्तै, रातो मासु, आइसक्रिम, बेकरी आइटम जस्ता खानेकुराको प्रयोग कम गर्नु नै ट्रान्स फ्याट घटाउने उपाय भएको डाक्टरहरू बताउँछन्।