सरकारद्वारा नेपालमा टिकटक तत्कालका लागि बन्दकाे निर्णय, २७ देश पुगे बन्द गर्ने देश

मूलखबर संवाददाता
काठमाडौं, २७ कात्तिक

इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ ।

मध्य एसियाली मुलुक किर्गिस्तानले अगस्त ३० देखि बालबालिकाको कुलत र मानसिक स्वास्थ्य बिग्रेको कारण देखाउँदै यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको दुरुपयोग गर्दै अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतमा असर पर्ने भएपछि टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बेलायतले सुरक्षाकाे कारण देखाउदै मन्त्री, सचिवलगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सन् २०२३ मा गरिसकेको छ । त्यस्तै, अमेरिकाले पनि सुरक्षाका कारण सरकारी प्रणालीमा आबद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२ मा गरेको थियो । न्यूजिल्यान्डले सुरक्षाको कारण देखाउँदै सरकारी एप्लिकेसन प्रणालीसँग आबद्धता प्रतिबन्ध सन् २०२३ मा गरेको हो ।

अन्य देशमा क्यानडाले गोपनीयता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीको प्रयोगमा प्रतिबन्ध सन् २०२३ मा लगाएको हो । ताइवानले  पनि राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२२ मा यसमाथि प्रतिबन्ध लगाएको थियो ।

सोहीअनुसार बेल्जियमले गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै सन् २०२३ मा टिकटकमाथि प्रतिबन्ध लगायो । डेनमार्कले साइबर सुरक्षा जोखिमको कारण देखाउँदै सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध सन् २०२३ मा गरिसकेको छ । पाकिस्तानले जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउँदै यसमाथि सन् २०२० मा नै प्रतिबन्ध लगाइसकेको छ ।

त्यस्तै, अफगानिस्तानले युवाहरूमा नकारात्मकता विकास हुने र जातीय धार्मिक द्वन्द्व फैलिने जोखिम र इस्लामिक कानुनविपरीत देखाउँदै सन् २०२२ मा टिकटक र पव्जीमाथि प्रतिबन्ध लगाएको थियो । छिमेकी मुलुक भारतले समेत गोपनीयता, सुरक्षा जोखिम र  टिकटकको बाइट डान्स टेक्नोलोजी जोखिम देखाउँदै टिकटक लगायत चीनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध सन् २०२० मा लगाएको थियो ।

सोहीअनुसार सन् २०२३ मा सोमालियाले गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्यमा प्रतिबन्ध लगाएको छ । अर्मेनियाले विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख  युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२० मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । अन्य देशमा अजरवैजानले नागोर्नो कारबाख युद्धलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२० मा प्रतिबन्ध लगायो । बङ्गलादेशले पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१ मा प्रतिबन्ध लगायो ।

त्यस्तै, इन्डोनेसियाले धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै सन् २०१८ मै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । इरानले धार्मिक कारण देखाउदै सन् २०२३ मा यसमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तै, जोर्डनले पनि प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थाई रूपमा प्रतिबन्ध सन् २०२२ मा लगाएको थियो । अहिलेसम्म त्यहाँ टिकटक प्रतिबन्धित छ ।

सोहीअनुसार अष्ट्रियाले त्यहाँको इन्टेलिजेन्स सर्भिसको प्रतिवेदनमा सुरक्षा जोखिम देखाउँदै सन् २०२३ मा नै टिकटकमाथि प्रतिबन्ध लगायो । इस्टोनियाले राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२३ मा यसमाथि प्रतिबन्ध लगाएको हो । त्यस्तै फ्रान्सले डाटा सेक्युरिटी जोखिम देखाउँदै टिकटक, ट्वीटर, इन्स्टाग्राम, नेटफिक्स, क्यान्डीक्रस लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाउने गरी सन् २०२३ मा प्रतिबन्ध लगाएको हो ।

अन्य देशमा आयरल्यान्डले साइबर सुरक्षा जोखिम देखाउँदै सन् २०२३ मा यसमाथि प्रतिबन्ध लगाएको छ । लाटभियाले सुरक्षा जोखिम देखाउँदै सन् २०२३ मा प्रतिबन्ध लगायो । माल्टाले साइबर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध सन् २०२३ मा लगायो । नेदरल्यान्डले डाटा प्रोटेक्सन जोखिमका कारण सरकारी कर्मचारीको प्रयोगमा प्रतिबन्ध सन् २०२२ मा लगाएको थियो ।

यस्तै, नर्वेले राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनितिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध सन् २०२३ मा गरेको हो । अष्ट्रेलियाले सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री, सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध सन् २०२३ मा लगाएको थियो ।

नेपाल सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोगमा रहेको टिकटकले सामाजिक सद्भाव एवम् सामाजिक वातावरण नकारात्मक असर परिरहेको भन्दै आजको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णयसँगै विभिन्न माध्यममा यसको विरोध भइरहे पनि सरकारले टिकटक प्रतिबन्धमा देश र जनताको हित रहेको जनाएको छ ।