उमेरकाे विषयमा छानवीन शुरू भएपछि दिए उपरथी पाण्डेले राजिनामा

मूलखबर संवाददाता
काठमाडौं

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले  उमेरको विषयमा छानबिन सुरू भएपछि राजीनामा दिएका छन्।

रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो। पाण्डेले बिहीबार बेलुका राजिनामा बुझाएका हुन् ।

पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।

परीक्षा नियन्त्रण कार्यालय र सैनिक मुख्यालय स्रोतबाट सेतोपाटीलाई प्राप्त कागजातअनुसार पनि पाण्डेले जन्ममिति सच्याएको देखिन्छ। छुट्टाछुट्टै विवरणमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ।

‘सैनिक नियमावली अनुसार उपरथी दर्जाको अवकास हुने उमेरको हद ५७ वर्ष हो। २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी  किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ।