नेपाली बढिरहेको एउटा देश, प्रचण्ड सरकारले यसकारण खोल्यो पोर्चुगलमा दूतावास
सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको छ। पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएको तर राजदूतावास नहुँदा छिमेकी युरोप देश जानुपर्ने बाध्यता भएको भन्दै गुनासो बढिरहेको अवस्थामा सरकारले यो निर्णय गरेको हो।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले शनिल नेपाललाई पोर्चुगलको राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।
यसकारण खोलियो पोर्चुगलमा दूतावास
अनौपचारिक तथ्यांकअनुसार पोर्चुगलमा करिब ४० हजार नेपालीको बसोबास छ । यसमा आधाजति कृषि क्षेत्रको श्रममा जोडिएका छन् । २४ हजार नेपालीले मात्रै बसोबास अनुमति पाएका छन् । करिब पाँच हजारको बसोबास अनुमतिका लागि ‘पहिचान भएर पनि कागजी प्रक्रिया पूरा गर्ने क्रम’ जारी छ ।
केही नेपाली पोर्चुगलको ठेगानामा दर्ता भए पनि रोजगारीका लागि अन्य देशमा बस्ने गरेका छन् । अरू मुलुकमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली श्रमिकका समस्या वा सरोकारमा आवाज उठाउने गरे पनि पोर्चुगलमा एनआरएनए कांग्रेस/एमालेका दलगत छन् ।
पछिल्ला वर्षमा पोर्चुगललाई गन्तव्य बनाएर जान श्रम अनुमति लिने नेपालीको संख्या एकदमै न्यून छ । बरु दक्षिणपूर्वी युरोपेली मुलुक रोमानिया हुँदै युरोप छिर्नेको संख्या बढी देखिएको छ । गत माघमा मात्रै ४ सयभन्दा बढी र गत वर्ष ४ हजारभन्दा बढी नेपालीले रोमानिया जाने श्रम स्वीकृति बनाएको विभागको तथ्यांक छ ।
युरोपको एकल भिसा पद्धति ‘सेन्जेन’ का कारण युरोपका अन्य देशमा रहेका नेपाली पोर्चुगल छिरेका हुन् । सजिलै काम पाइने, बसोबास मिल्ने र अन्य युरोपेली मुलुकमा आवागमन सहज हुने विश्वासमा पोर्चुगललाई ‘ट्रान्जिट’ बनाउनेहरू धेरै निस्किएका हुन् । यसरी पोर्चुगल छिरेका नेपालीहरू लिज्बन तथा आसपासका पार्क, चौर र रेल स्टेसनतिर सुत्न बाध्य छन् । रोजगारी नहुँदा खानाको अभाव छ ।
को हुन् राजदूत बन्न लागेका शनिल
कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन्। राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका थिए।
उनले कांग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गरेका थिए। उनले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्।
पाल्पामा जन्मेका नेपाल बाल्यकालदेखि नै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहेका थिए। विद्यालयमा नेविसंघको अध्यक्ष हुदै सुरु भएको उनको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो।
त्रिभुवन विश्वविद्यालयबाटै मानवीकि संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन। युरोपेली मुलुक मध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थीत नेपालीले तत्काल दूतावास स्थापना गर्दा दवाव दिँदै आएका थिए। मन्त्रिपरिषद्को यो निर्णयले पोर्चुगलमा रहेका नेपालीले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। पोर्चुगलमा ६० हजार भन्दा बढी नेपाली रहेको बताइएको छ।