प्रधानमन्त्री प्रचण्डले गराएको प्रणः १२ बुँदे गरेका दल गणतन्त्र संस्थागत गर्न प्रतिवद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच मंगलबार छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निष्ठ अविछिन्न रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसको विरुद्ध हुने अराजकताकोविरूद्ध डटेर सामना गर्ने बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने पार्टीहरु बीचको समिक्षा बैठक मात्र भएको स्पष्ट पारे । उनले भने, ‘परिवर्तनका बाहकहरु एकठाउँमा बसेर सामान्य समिक्षा गर्ने कुरा आफैंमा एउटा परिणाम भएको ठान्दै महत्वपूर्ण यस छलफललाई मैले भएको मानेको छु ।’
प्रचण्डले छलफलमा सबै दलहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा सबलरुपमा उठेको उल्लेख गर्दै यसको रक्षाको लागि मैदानमै उत्रिनेसम्मको भावना ऐतिहासिक प्रक्रियामा दुरगामी अर्थ राख्ने बताए । प्रधानमन्त्रीले आफूले धेरै ठूलो संकट परेर बैठक बोलाएको नभई अराजकता र अस्थिरताका प्रवृत्तिहरु देखा परेकाले परिवर्तनका बाहक शक्तिहरुले आफ्नै समिक्षा गर्नुपर्ने भएको बताए ।
१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, आन्दोलन, संविधानसभाबाट संविधान लेखनका पक्षधर परिवर्तनकारी राजनीतिक दलका नेताहरू एकै ठाउँमा बैठक गरिएको नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताइन्।
‘यदाकदा छिटपुट, पानीको फोकाजस्तो विभिन्न कोणबाट देखा परेका प्रहारहरूलाई मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्ष निस्किएको छ,’ भुसालले भनिन्, ‘लडेर ल्याएको गणतन्त्रप्रति दलहरू प्रतिबद्ध हुनुहुन्छ।’
कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको उनले जानकारी दिइन्। १२ बुँदे पक्षधर दलहरूलाई कुनै पनि विषयले नतर्साएको पनि उनले बताइन्। ‘हामीले लडेर ल्याएको व्यवस्था हो यो। यसमा दलहरूले फेरि एउटा नयाँ प्रतिबद्धता गरिएको हो,’ उनले भनिन्।
बैठकमा शान्ति प्रक्रियाका बाँकी काम छिटो पूरा गर्ने विषयमा पनि कुराकानी भएको थियो।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले १२ बुँदे समझदारी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पार्टीहरूका बीचमा समसामयिक राजनीतिक परिवेश लगायतबारे छलफल गरेको बताए।
‘बैठकमा विभिन्न कोणबाट गम्भीरताका साथ छलफल भयो। हामीले पनि सरकारका कतिपय अकर्मण्यताका कारण मुलुकमा छाडातन्त्र मौलाइरहेको छ, विद्यमान शासकीय प्रबन्धमाथि अनेकौं खालको चुनौती आउने काम भइरहेको छ। गृह प्रशासन कमजोर भएकोजस्ता विषयमा कुरा राख्यौं,’ उनले भने, ‘शान्ति, संविधान, विद्यमान व्यवस्था र जनतामा निराशा भइरहेको छ, भड्काउने र कपोलकल्पित प्रक्रिया चलिरहेको छ यसबारे पनि हामीले कुरा राख्यौं।’
मुलुकको व्यवस्था (गणतन्त्र) प्रति जनस्तरबाट भ्रामक टिप्पणी गराउने खेती भइरहेको पनि उनले बताए।
अर्थमन्त्रीसमेत रहेका कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शान्ति प्रक्रिया छिटो टुंग्याउनेलगायत राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउन बैठक गरिएको बताए। ‘लामो संघर्षबाट अहिलेको संविधान बनेको हो। त्यसलाई रक्षा र संस्थागत गर्ने तथा राष्ट्रिय मुद्दाहरूमा साझा धारणासहित सँगै अघि बढ्ने कुराहरूमा नै छलफल केन्द्रित रह्यो,’ उनले भने।
उनले अहिलेको व्यवस्थाप्रति कतैबाट पनि त्राश नरहेको दाबी गरे। ‘त्राश कहीँबाट पनि छैन, प्रचारमा बढाइचढाइ आएका छन्,’ महतले पत्रकारहरूसँग भने, ‘जनताको अधिकारलाई अहिलेको व्यवस्थाले सुनिश्चित गरेको छ। यो अधिकारबाट कोही बञ्चित हुन चाहन्छ? सामाजिक सञ्जालमा आधारहीन, प्रमाणहीन, अराजक प्रवृत्ति पनि छन्।’
बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल भन्छन्, ‘असन्तुष्ट जनतालाई उक्साएर अराजकता फैलाउने र व्यवस्था नै उल्ट्याउने हुन् कि भन्ने चिन्ता नेताहरुमा देखिन्छ। यसलाई कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा नेताहरुबीच छलफल भएको छ।’
बैठकपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘सन्त्रासको कुरा होइन र हामी तर्सिएको पनि होइन। १२ बुँदे समझदारी पक्षधर बसेर समीक्षा सुरु गरेका हौं। अब समय आएको छ सामान्य समीक्षा गरौं भनेर गरिएको हो।’
प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भएको क्षति तथा उद्धार र राहतमा सरकारले गरिरहेको कामबारे पनि भेलामा जानकारी गराएका थिए।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू सहभागी थिए।
त्यस्तै माओवादी केन्द्रबाट पम्फा भुसाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल सहभागी थिए। लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री तथा नेता शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए भने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरू बैठकमा सहभागी थिए।