जाजरकोट भूकम्पमा प्रचण्डले देखाएको उदाहरण, सरकार जनताको सच्चा अभिभावक

मूलखबर संवाददाता
काठमाडौं

जाजरकोट र रुकुममा शुक्रबार राति गएको भूकम्पपछि देशको सरकार जनताकै सेवक भएको महसुस भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू साच्चिकै जनताको सेवक र देशको अभिभावक भएको पुष्टि विगत २४ घण्टामा गरेका छन्।

दुःखमा परेका सर्वसाधारणका अगाडि प्रधानमन्त्री आफैँ पुगेर सान्त्वाना दिँदा पक्कै पीडितहरूको मनमा ठूलो राहत महसुस भयो ।

प्रचण्ड पीडितसँग पुग्दा
शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए। विपत्तिका सामु कसैको केही लागेन। एकाएक धर्ती हल्लियो। निद्रामा रहेका मानिस ब्यूँझिए। कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो। काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो।

जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ। अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन्। राहत र उद्धारको काम चलिरहेको छ। पहिलो चरणमा सरकारले भूकम्प प्रभावितको सकुशल उद्धारमा ध्यान केन्द्रित गरेको छ। करिब–करिब उद्धारको काम पूरा भएको स्थानीय प्रशासनले जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार रातिदेखि नै प्रभावितको उद्धारमा प्रभावकारी रूपमा खटिन निर्देशन दिएअनुसारको काम भयो। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले शनिबार बिहान १ बजेभित्रै जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी लिएका थिए। भूकम्प गएको थाहा पाउनेबित्तिकै तत्काल उद्धार र राहतमा खटिन उनले मातहतका निकाय, सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री झण्डै १८ घण्टा जाजरकोट र रुकुम पश्चिमलाई नै केन्द्रमा राखेर खटिएका थिए।

आफैंले विवरण लिएपछि प्रधानमन्त्री प्रचण्डले शनिबार विहान बिहान ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिकसँग उद्धारका बारेमा छलफल गरी आवश्यक निर्देशन दिएका थिए। आवश्यक तयारीलगत्तै बिहान ६ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा र जाजरकोटबाट कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहीसहित विमानस्थल पुगेका प्रधानमन्त्रीले आफूसँगै १६ जना स्वास्थ्यकर्मीलाई प्रभावितस्थल लिएर गए।

प्रधानमन्त्रीले आफू नेपालगन्ज फर्किँदा हेलिकोप्टरमा आफूसँगै ७ जना घाइते र ७ जना कुरुवालाई उद्धार गरेर नेपालगन्ज मेडिकल अस्पतालमा ल्याए । जाजरकोटबाट रुकुम आउँदा पनि प्रचण्ड चढेको हेलिकोप्टरमा जाजरकोटका घाइतेलाई चौरजहारी अस्पतालमा ल्याइएको थियो ।

भूकम्प प्रभावित दुवै जिल्लामा उद्धारका लागि सरकारले बिहानैदेखि सेनाको हेलिकोप्टर र स्काइ ट्रक परिचालन गरेको थियो । स्वास्थ्यकर्मीहरूको टोली पठाउन पनि ढिला गरेन ।

प्रधानमन्त्रीसँगै ऊर्जामन्त्री शक्ति बस्नेत र नेता जनार्दन शर्मा पनि जारजरकोट र रुकुम पश्चिका भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद पनि हुन् ।

रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरूको राहत तथा उद्धारका लागि सहज होस् भनेर सरकारले नेपाल एयरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न लगायो । अन्य एयरलाइन्सहरूलाई तयारी अवस्थामा राख्यो ।

रुकुम पश्चिमको चौरजहारी र खलंगामा विमानस्थल छन् । तर जाजरकोटमा भएको विमानस्थल पनि सञ्चाललनमा छैन । रुकुमका विमानस्थलहरूमा साना ट्वीनअटर हवाई जहाज मात्र उडान हुने गरेका छन् ।

सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटमा बिहानबाटै उपचारमा खट्यो । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत प्रभावित जिल्लामा बिहानै पुगेका थिए ।

सरकारले दाङबाट विपद् उद्धारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठायो । त्यस्तै, सुर्खेतबाट दुईवटा डीआरएस कन्टेनर जाजरकोट पठायो । उक्त कन्टेनरमा खाद्यान्नबाहेक उद्धारका सबै सामग्रीहरू हुन्छन् ।

सरकारले कुरिनटार र सिनामंगलमा पनि डिजास्टर म्यानेजमेन्टको तालिम लिएको टोली तैनाथ राख्यो । महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्धार टोली जाजरकोटमा खट्यो ।

नेपाली सेनाका सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न टोलीहरू गएरातिदेखि नै खोज तथा उद्धारमा खटिए ।सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको उद्धार र राहतका लागि ५–५ करोड रुपैयाँ पठाएको छ ।

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा सक्रिय रहे भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा बैठक बोलाएर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५–५ करोड रुपैयाँ तत्काल पठाउने निर्णय गरे ।

कतिपय घाइतेको स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचार गरायो । सरकारले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा सुरु गरेको गृहमन्त्री श्रेष्ठले जानकारी दिएका छन् । उनले भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले शनिबार सानीभेरी, आठबिसकोट, मुसीकोट, जाजरकोटको थाप्लेचौर, नलगाडलगायत स्थानमा आफैँ पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिए। उनले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरे। थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन तथा खर्चको कुनै चिन्ता नगर्न ढाडससमेत दिएका थिए।

प्रधानमन्त्रीले भूकम्पमा परी निधन भएका मानिसका आफन्तसँग रुकुमको राडीबजारमा भेटेर समवेदना प्रकट गरेका थिए। उनले सरकार साथमा भएकाले चिन्ता नगर्न आग्रह गर्दै पुनःस्थापना र राहतको प्रबन्ध गरिने विश्वास दिलाएका थिए।

उद्धारको काम सम्पन्न भएको निष्कर्षमा पुगेका प्रधानमन्त्रीले राहत, पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

अधिकारसम्पन्न स्थानीय सरकार गठन भएका कारण उद्धारको काम प्रभावकारी भएको निष्कर्षका साथ काठमाडौँ फर्केका प्रधानमन्त्री दाहालले दोस्रो चरणमा राहतको कामलाई प्राथमिकतामा साथ युद्धस्तरमा अगाडि बढाउने विश्वास स्थानीय प्रभावितलाई पनि दिलाएका छन्।

वितेको २४ घण्टामा प्रधानमन्त्री प्रचण्डले देशमा सरकार जनताकै सेवामा तल्लिन रहेको र आफू जनताको अभिभावक रहेको प्रमाणित गरेका छन्।