कोशीमा व्युँतियो सत्ता गठबन्धन, एमालेको विकल्प सरकारबाट बाहिरिने मात्र

मूलखबर संवाददाता
काठमाडौं

कोशीका नवनियुक्त दुई मन्त्रीले शपथग्रहण गरेका छन्।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जबेगुले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शुक्रबार साँझ शपथ लिएका हुन्।

मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनको निर्णय अुनसार उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन।

संविधानको धारा १६८ (५) अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सल्लाह बेगर मन्त्रिपरिषद् विस्तार गरेको भन्दै एमालेका नेताहरू असन्तुष्ट बनेका छन्।

अर्थात् एमाले र विद्रोही कांग्रेसको गठबन्धन १८ दिनमै टुटेको छ ।

एमालेको असहमतिमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनमा आबद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएसँगै एमाले–विद्रोही कांग्रेसबीचको गठबन्धन टुटेको हो ।

कार्की कांग्रेसबाट विद्रोह गरेका ८ सांसदसहित एमालेको सहयोगमा गत असोज २८ गते मुख्यमन्त्री बनेका थिए । तर उनी १८ दिमै पुरानै गठबन्धनमा फर्किएपछि एमालेले असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरू पनि विश्वासको मत दिएका थिए । यस्तोमा सरकारमा गठबन्धनलाई सामेल गर्ने कि एमाले मात्र राख्ने भन्ने निर्णय गर्न नसक्दा उनले सरकार विस्तार गर्न सकेका थिएनन् ।

मुख्यमन्त्री कार्की कांग्रेसमा नेता डा शेखर कोइरालानिकट मानिन्छन् । मन्त्रीमा गठबन्धनमा आबद्ध दलहरूलाई समावेश गरी मन्त्री बनाएसँगै कार्की र संस्थापन पक्षबीच दूरी घट्ने देखिएको छ ।

कोशीको कांग्रेस विद्रोह साम्य पार्न तथा सत्ता गठबन्धन कार्की मुख्यमन्त्री बनेलगत्तै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कोइरालालाई सम्झौता गराएका थिए । अहिले त्यसले सार्थकता पाएको छ ।

कांग्रेसका असन्तुष्ट केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले पुनः केन्द्रीय गठबन्धनकै आदेशमा चलेको भन्दै सरकारबाट बाहिरने तयारी गरेको हो।