माओवादी ब्रिफिङः रूपान्तरण अभियानले पार्टीमा गुट निरुत्साहित, जनता उत्साहित
पार्टी रूपान्तरण अभियानले माओवादीलाई सकारात्मक प्रभाव परेको निष्कर्ष माओवादीका नेताहरूले निकालेका छन्। जनतासँग माओवादी विशेष अभियान अन्तर्गत बागमती प्रदेशले अहिलेसम्म भएका कार्यप्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष रिपोर्टिङ गर्ने क्रममा यस्तो विश्लेषण गरिएको हो।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त बैठकमा कार्यप्रगति सम्बन्धमा संक्षिप्त जानकारी गराइएको थिए ।
अध्यक्ष प्रचण्डको उपस्थितिमा बसेको बैठकमा सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा र उपत्यका प्रदेशका इन्चार्ज वर्षमान पुन सहभागी थिए । तीन वटै प्रदेशका इन्चार्जले अहिलेसम्म भएका गतिविधिबारे अध्यक्षलाई जानकारी गराइएको सम्पर्क समन्वय प्रदेशका इन्चार्ज पोखरेलले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट अन्त्य भएर पार्टीमा आकर्षण बढ्न थालेको बताए। माओवादीमा पछिल्लो चरण जनताको रुचि बढ्दै गएको, संगठन निर्माण राम्रो भएको रिपोर्ट पाइएको प्रचण्डले सुनाए। सरकारमा रहेर गरिएका राम्रा कामले माओवादीप्रति आकर्षण र जनविश्वास वृद्धि भएको दाबी गरे।
‘साथीहरू गुटले पार्टी बन्दैन भन्ने निष्कर्षमा पुगेर तलैसम्म खटिनुभएको छ, यसले माओवादी पार्टीमा सकारात्मक पारिणाम देखाएको छ,’ प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै बागमती प्रदेश समितिका एक पदाधिकारीले मूलखबरसँग भने, ‘रूपान्तरण अभियानलाई नेता-कार्यकर्ताले गम्भीरता साथ लिएकाले फिल्डमा माओवादी चलायमान देखियो।’ उनले माथि रहेको गुट कम भएको पनि बताए।
उनका अनुसार अभियानबाट देशभर माओवादीमा फेरि उत्साह जागेको प्रचण्डले बताएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशका इन्चार्जबाट अभियानको अहिलेसम्मको स्थितिबारे जनकारी लिएका थिए ।
‘माओवादी सलबलाएको कुरा मलाई विपक्षी साथीहरूले भन्ने गर्नुभएको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले थपे, ‘हेडक्वार्टरमा विपक्षीहरूको पनि रिपोर्ट आउँछ, उनीहरूको कुरा पनि अहिले माओवादी सलबलाएको भन्ने नै छ ।’
यसैबीच, नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी महासचिव देवप्रसाद गुरुङले प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गरेका छन् । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।