च्यासलबाट शीर्षको संकेतः टिआरसीमा समान धारणा, शान्ति प्रक्रिया पूरा गर्न प्रतिवद्ध

मूलखबर संवाददाता
काठमाडौं

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बुधबारस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा यस वर्षको चियापान आयोजना गर्‍यो, जसमा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता चियापानमा पुगेका थिए। यही स्टोरीको आवरण तस्बिरमा नेपालका सबै प्रमुख दलका मुख्य नेता र पूर्वप्रधानमन्त्रीहरू सँगै बसेर प्रसन्न मुद्रामा कुराकानी गरिरहेका देखिन्छन्।

चियापानमा उपस्थित नेताहरूले शुभकामना र सद्भाव धेरै साटे, राजनीतिक विषयमा थोरैमात्र प्रतिक्रिया दिए । संसद्मा प्रतिनिधित्व गर्नेसहित अन्य केही दल पनि उपस्थित चियापानमा नेताहरूबीचका केही फरक दृश्य भने देख्न पाइयो । अघिपछि राजनीति दुष्मनी साँध्ने र आलोचनामा उत्रिने नेताहरूले एमालेको चियापानमा चाहिँ आपसमा हार्दिकता देखाएको पाइयो ।

भीआईपी, भीभीआईपी र दलका नेताहरू नआउँदासम्म ललितपुरका च्यासलस्थित एमाले मुख्यालयको चियापानको माहोल सामान्य नै थियो । तर दलका शीर्ष नेताहरू दिउँसो २ बजेपछि दलका नेताहरू उपस्थित हुन थालेपछि भने माहोल नै फरक बन्न पुगेको थियो ।

कार्यक्रमका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरूबीच समझदारी बनेको बताए। चियापान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।


उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा समझदारी बनेको भन्दै शान्ति प्रक्रियाको बाँकी काम छिटै टुंगिने बताए ।

उनले पीडितहरूलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिकिर गरे । दलहरूलाई सदैव एक ठाँउमा ल्याउन आफुले सदैव पहल गरेको र बुधबार बिहान भएको छलफल सकारात्मक भएको धारणा राखे ।

बुधबार बिहानको मिटिङ दलहरुलाई एकैठाउँ ल्याउने विषयमा सकारात्मक भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो समय पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको महसुस गरेको छु।’

प्रचण्डले चियापान कार्यक्रमले दलहरूलाई एकठाँउमा उभिन र समझदारी कायम गर्न मद्धत गरेको बताए ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आफ्नो सम्बन्ध सुध्रिएको बताए ।

‘प्रधानमन्त्रीसँग मेरो बिहान पनि भेट भएको थियो’, पत्रकारको जिज्ञासामा ओलीले भने, ‘तपाईंहरुले यहाँ पनि देखिहाल्नुभयो हाम्रो हाउभाउ ! हाम्रो सम्बन्धमा सुधार भएको छ, यसलाई सकारात्मकरुपमा लिनुस् न !’

उनले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सहमतिमै टुंग्याउनुपर्ने बताए । ‘पीडितलाई केन्द्रमा राखेर सर्वोच्चका आदेशका आधारमा न्याय निरुपण गरिनुपर्छ’, ओलीले भने ।

उनले चाडवाडमा आयोजित चियापान समारोहमा तिता कुरा नगर्ने पनि बताए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् । शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने उनको भनाई थियो ।

चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताए । तत्कालीन द्वन्द्वरत पक्षहरु गम्भिर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी कामअझै टुंगोमा पुग्न नसकेको बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफूहरूले गरिरहेको पार्टी अभियानको जनपरिचालनलाई प्रदर्शन भनेर गलत प्रचार गरिएको बताएका छन्। कसैका विरुद्ध तल्लो तहसम्म माओवादी पार्टी पंक्तिलाई चलायमान बनाउन खोजिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको सहयोगमा मापदण्ड बनाएर शान्ति प्रक्रिया टुंग्याउने प्रतिबद्धता जनाए ।