राष्ट्रसंघ प्रमुखको सम्बोधनले सबै खुसी, छिर्के हानेका ओलीलाई प्रचण्डको सीधा जवाफ

मूलखबर संवाददाता
काठमाडौं

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा गुटेरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिए । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने समेत बताए ।

महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंगो लगाउने सन्दर्भमा नेपालको साथमा संयुक्त राष्ट्रसंघ पनि हुने बताएका हुन्। उनले नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई स्वागत गर्ने बताउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा नेपाल एक्लो नभएको बातए।

‘तपाईंहरू एक्लो हुनुहुन्न,’ महासचिव गुटेरेसले भने,‘अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईंको सर्वोच्च अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसंघ तपाईंहरूलाई सहयोग गर्न तयार छ।’

गुटेरसको सम्बोधनप्रति सबै नेताहरूले खुसी व्यक्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शान्ति प्रक्रियाका बारेमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले खासगरि शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायसंग जोडिएको बिषयमा नेपालकै पहलकदमीमा अघि बढाउने र समाधान गर्ने विषयमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका हुन् । त्यस्तै जलवायु परिवर्तनका कारण नेपालमा परेको असरलाई विश्वसामू उठाउने विषय पनि निकै सकारात्मक रहेको उनले बताए। उनले सम्पन्न देशले जलवायु परिवर्तनको असरको प्रभावको जिम्मा लिनुपर्ने, विश्व शान्तिका लागि नेपालको भूमिकाको प्रसंसा हुनु खुसीको कुरा भएको जिकिर गरे ।

 त्यस्तै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रसंघका महासचिवले संसदमा गरेको सम्बोधनले नेपाललाई विश्वसामू थप उजागर गर्न मद्दत पुग्ने बताए । संविधान निर्माण, शान्तिप्रक्रिया लगाएतमा राष्ट्रसंघका महासचिवले गरेको प्रसंसाले अन्तराष्ट्रिय जगतमा नेपाललाई उपलब्धी हासिल गर्न सहज हुने उनले बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता बर्षमान पुनले राष्ट्रसंघका महासचिवको सम्बोधनले नेपालको मौलिकतामा शान्तिप्रक्रिया अघि बढाउन सहज हुने र आगामी दिनमा शान्तिप्रक्रिया टुङ्गाउन प्रोत्साहित गरेको बताए । त्यस्तै उनले जलवायु परिवर्तनले नेपाललाई पारेको असर विश्वमा जानकारी गराउन राष्ट्रसंघका महासचिवको सम्बोधन उल्लेखनीय रहेको धारणा राखे ।

उनले महासचिव गुटेरेसले प्रभावित देशहरुलाई विकसित देशहरुले सहयोग गर्नु दायित्व भएको कुरा सम्बोधन गर्नुभएको भन्दै नेपालले पाउनुपर्ने सुविधा पाउनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी कामहरु नेपालका सबै पक्षहरु बसेर मौलिक ढंगले सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समयानुकूल नेपालको अवस्थाबारे महासचिव गुटेरेसले चित्रण गरेको उल्लेख गदै उनीप्रति धन्यवाद व्यक्त गरे । अध्यक्ष केसीले पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

ओलीलाई प्रचण्डको जवाफ
एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियामा एमाले तयार भएको तर सरकारकै कारणले टुंगोमा पुग्न नसकेको ब्रिफ आइतबारको भेटमा गुटेरेससँग गरेका थिए । मंगलबारको संघीय संसद बैठकमा महासचिव गुटेरेसको सम्बोधनपछि ओलीले प्रतिक्रिया दिन मानेनन् । उनले पार्टीको तर्फबाट धन्यवाद दिए भने गुटेरेसले उठाएको विषयको प्रशंसा गरे ।

ओलीले थप प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने देश विभाजित भएको केही नेताले देखाउनु दुर्भाग्य रहेको बताए । ‘उहाँको पूरै सहयोग रहन्छ भन्नेमा विश्वस्त छु । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको सहयोग हुने वातावरण देखेको छु । मेरो निम्तामा उहाँ आउनुभयो । सफल भ्रमण भयो । नेपाल र नेपालीका निम्ति खुसी र गर्वको कुरा हो । योभन्दा बढी भन्न चाहन्नँ म,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल र नेपालको शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदाय र राष्ट्र संघको यस्तो राम्रो धारणा छ । तर दुर्भाग्य, हाम्रा नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनुभयो । त्यो भने दुर्भाग्यपूर्ण हो ।’

काठमाडौँ, १२ कात्तिक :
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्ने क्रममा भलाकुसारी गर्नुहुँदै । महासचिव गुटेरेस हाल नेपालको औपचारिक भ्रमणमा हुनुहुन्छ । तस्बिर :रत्न श्रेष्ठ/रासस

जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्ने लगाएत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए । उनले आफ्नो निमन्त्रणमा आएको गुटेरेसको भ्रमण नेपालका लागि राम्रो भएको प्रचण्डले प्रष्ट पारे ।