माओवादी रूपान्तरण अभियानको म्याद थप, यस्तो छ राष्ट्रसंघ महासचिवसँगको अपेक्षा

मूलखबर संवाददाता
काठमाडौं

माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दसैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्‍याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए ।

‘अभियान अन्तर्गत अहिलेसम्म भएका कामको समीक्षा भयो । यो बिचमा दसैँ, तिहार जस्ता ठुला चाडपर्व परेकाले डिस्टर्बेन्स भएकाले एक महिना म्याद थप्ने निर्णय बैठकले गरेको छ’, साहले भने ।

यस्तै बैठकमा शान्ति प्रक्रिया, संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण, विपक्षी दलका नेता केपी ओलीसँग भएको भेटवार्ताबारे अध्यक्ष प्रचण्डले बैठकमा सामान्य जानकारी गराएको उनले बताए ।

साउनको तेस्रो साता राजधानीमा बसेको माओवादी केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार गत भदौ १६ देखि माओवादी केन्द्रले ७५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो । म्याद थपिएपछि पुस १६ सम्म अभियान सञ्चालन हुने सचिव साहले बताए ।

यसैबीच माओवादी प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्ने बताएका छन्।

महासचिव गुटेरेसले संसद्‌मा गर्ने सम्बोधनलाई सबैले आत्मसात गर्ने उल्लेख गर्दै गुटेरेसले त्यसबाट शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्न सक्ने विश्वास उनले व्यक्त गरे। पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु पीडितको समेत सहमतिमा निष्कर्षमा पुर्‍याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भूमिका खेल्ने बताए।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाइ छ।

‘यो बेलामा संयुक्त राष्ट्रसंघको महासचिव नेपाल आउनु भनेको नेपालका लागि धेरै ठूलो अवसर हो। यस्तो बेलामा उहाँ नेपाल आउनुभएको छ कि अहिले पनि सुरक्षा परिषद्को बैठक बसिरहेको छ। त्यस्तो बेलामा उहाँ आउनुभएको छ। यसबाट के बुझिन्छ भने उहाँले नेपालको भ्रमणलाई उच्च महत्व दिनुभएको छ,’ सापकोटाले भने।