कोशीको समीकरण पुरानै अवस्थामा, एमालेलाई हात लाग्यो यस पटक पनि अपमान
केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । दसैँअगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि शीर्ष नेताहरूको दबाबका कारण उनले मन्त्री थप्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारका लागि थप छलफल गर्न कार्की पुन: काठमाडौं पुगेका छन् ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस पार्टीमा आफूसहित ८ सांसदको विद्रोहलाई वैधानिकता दिएसँगै माओवादी र समाजवादीलाई सरकारमा भित्र्याउने तयारी गरेका छन्। काठमाडौंबाट फर्किएपछि उनले एमालेका राम राना र कांग्रेसका आफू पक्षका शमसेर राईलाई मन्त्री बनाएका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय गठबन्धनअनुसारकै सरकार बनाउन निर्देशन दिएपछि कार्की संकटमा छन्।
मुख्यमन्त्री केदार कार्की दशैंको समापनसँगै नेकपा (एमाले)सँग तर्किन थालेका छन् । एमालेले आइतवार मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिइरहेका बेला मुख्यमन्त्री कार्कीले भने झापामा कार्यक्रम राखेका छन् । शनिवार भने उनी आफ्नै पार्टी कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा भाग लिन सिलसिलामा काठमाडौंमा आए। एमालेका नेताहरूलाई आइतवार फर्केपछि छलफल गर्ने आश्वासन दिएर उनी काठमाडौं गएका थिए ।
आफूले दिएको समय पटक–पटक सार्न थालेपछि एमाले भने मुख्यमन्त्री कार्कीसँग रुष्ट बन्न थालेको छ । विश्वासको मत लिएलगतै दशैँअघि नै मन्त्रिपरिषद् विस्तार गर्न एमालेले मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । गत कात्तिक १ गते विश्वासको मत लिएका कार्की भोलिपल्ट नै काठमाडौं गएका थिए । एमालेले दिएको समय कटाएरमात्रै उनी विराटनगर आएका थिए । त्यसपछि कात्तिक १० गते शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्न एमालेले मुख्यमन्त्री कार्कीलाई भनेको थियो । दशैंको बीचमा नगरौँ भन्दै मुख्यमन्त्रीले नै रोकेका थिए ।
मुख्यमन्त्री कार्कीले आफूनिकट नेता शेखर कोइराला प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भएको सहमतिअनुसार अगाडि बढ्नका लागि सरकार विस्तार आलटाल गरेको एमालेको निष्कर्ष रहेको छ । कार्कीले भने प्रदेशको सहमतिको सरकार बनाउन पहल गर्ने बताउँदै आएका छन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको कोशीमा उपसभामुख सिर्जना दनुवार र राप्रपाका ५ सासदले भने विश्वासको मत दिएका थिएनन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले दशैंपछि लगतै एमाले प्रमुख प्रतिपक्षी हुने दाबी यसअघि नै गरिसकेका थिए । मुख्यमन्त्री कार्की पनि एमालेसँग तर्किन थालेपछि यसको पुष्टि हुँदै गएको छ ।
कोशीमा फेरि साविक गठबन्धनकै सरकार बन्ने बाटोमा लागेपछि एमाले सत्ताबाट बाहिरिने तयारीमा छ ।