जनयुद्धको आधार इलाका रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले दिएका पाँच सन्देश
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार जनयुद्ध सञ्चालनको आधार इलाका रुकुम पश्चिम पुगे। रुकुम पश्चिममा आयोजित सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड रुकुम पुगेका हुन्।
रुकुम पुगेका प्रचण्ड जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी पनि भएका थिए।
रुकुमका कार्यक्रमका सहभागी हुने क्रममा प्रचण्डले विभिन्न ५ सन्देश दिएका छन् ।
गठबन्धन ५ वर्ष
प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटनमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
सत्ता गठबन्धन भत्काउन अनेकौं प्रयत्न भएको भन्दै उनले ती प्रयत्न असफल हुने जिकिर गरे । ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ ।’
आफू प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको उनको दाबी थियो। लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको प्रधानमन्त्री प्रचण्डले बताए ।
गठबन्धन भत्काउन अनेकौं प्रयत्न भएका छन्। तर उनीहरू सक्दैनन्,’ उनले भने।
सरकारले भ्रष्टाचार विरोधी अभियान नयाँ तरिकाले अघि बढाएको उनले बताए। आफू प्रधानमन्त्री भएपछि जनताका पक्षमा विभिन्न कानुन बनेको भन्दै प्रचण्डले भने, ‘मिटरब्याज पीडित किसानका पक्षमा कानुन बनेको छ। लाखौं मिटरब्याज पीडितले न्याय पाएका छन्।’
माओवादीको पुनः एकता
प्रचण्डले पुन: माओवादी एकता हुने समेत बताए। उनले पहिला प्रचण्डपथले एकीकृत गरेको भए पनि अहिले छिन्न भिन्न भएको बताए। ‘पहिला प्रचण्डपथ थियो, त्यसले हामी सबैलाई एकीकृत गरेका थियो। अहिले अलिकति अनेकता देखिएको छ,’ उनको भनाइ छ।
‘हामी ठूलो पार्टीको रूपमा उदाएका थियौं। विडम्बना हामी सबै फरक-फरक बाटोतिर लाग्यौं। हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनतासामु गरेका थियौं, त्यो प्रतिबद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो। शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो,’ उनले भने।
केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ छ। ‘हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ। हामीले समाजवादी मोर्चा नै बनाएका छौं। त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ। समाजवादी मोर्चाको एउटा अभियान छ। हाम्रो पार्टीको एउटा अभियान छ। यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो,’ उनले भने।
सरकारको सन्तुलित कूटनीति
प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैं अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए। ‘हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौं। अझै पनि बलियो हुने छ। मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्,’ उनले भने।
‘राष्ट्रसंघको महासभामा जाँदा मैले त्यसका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ,’ उनले भने, ‘मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो ।’
साथै कतारका राजा तमिम बिन हमाद अल थानी पनि नेपाल आउँदै गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
‘कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं,’ उनले भने, ‘कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।’
शान्ति प्रक्रिया पूरा गरेरै छाड्ने
प्रचण्डले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नका लागि सरकारले सत्य निरूपण तथा बेपत्तासम्बन्धी विधेयक टुंगाउन पहल गरिरहेको उनले बताए ।
‘शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ । यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन्। सहिद पार्कहरू, स्तम्भहरू बन्छन्। यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ’, उनले भने ।
शहीद परिवारप्रति उच्च सम्मान
प्रचण्डले गाउँमै आएर सहिद, वेपत्ता तथा घाइते परिवारलाई भेट्न पाउँदा खुसी लागेको बताए । व्यवस्था परिवर्तनका लागि सहिदहरूको योगदान महत्वपूर्ण भएको उनको भनाइ थियो । सरकारले जनयुद्ध दिवसमा बिदा दिएर सहिदहरूको योगदानको उच्च सम्मान गरेको उनले दाबी गरे ।
क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रुकुम रोप्पा आउने गरेको स्मरण गर्दै उनले शान्ति प्रक्रियापछि जनताको अवस्था बुझ्न फेरी आएको उनले बताए ।
‘क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें। तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो। शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु’, उनले भने, ‘यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ ।’
यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेको बताउँदै उनले विशेष अभियान पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार भएको जिकिर गरे ।
उनले विचारको प्रश्न सबैभन्दा माथि हुने भन्दै अहिले प्रचण्डपथ छोडेर पार्टीभित्र अनेकता देखिएको बताए । यसलाई फेरि विचार संश्लेषण गरेर अघि बढ्ने उनको भनाइ छ ।