स्ववियु चुनाव चैत ५ मा सार्न सिफारिस
आगामी फागुन १५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सार्न विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरेको छ । परिषदको बैठकले त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ मा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विद्यार्थी कल्याण परिषद्को सोमबार बसेको बैठकले उक्त मितिमा स्ववियु निर्वाचन गर्न कार्यकारी परिषद्लाई सिफारिस गरेको हो ।
कार्यकारी परिषद्ले सिफारिस अनुमोदन गरेपछि निर्वाचनको मिति घोषणा हुनेछ । त्रिवि वार्षिक क्यालेन्डरमा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने मिति तोकिएको छ । तर २०७९ मा पनि चैत ५ मै निर्वाचन भएकाले सोही मितिमा निर्वाचन गर्न सिफारिस गरिएको परिषद्का सदस्य सचिव तथा विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।
‘२०७९ मा निर्वाचित पदाधिकारीको कार्यकाल पूरा भएपछि नयाँ स्ववियु चयन गर्दा उपयुक्त हुने ठानेर चैत ५ मा प्रस्ताव गरिएको हो,’ उनले भने । परिषद्ले निर्वाचन मिति तय गर्नेबारे त्रिवि कानुनी सल्लाहकारको समेत राय लिएको थियो ।
निर्देशनालयले निर्वाचन मिति सिफारिस गर्नुअघि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनसँग समेत परामर्श गरेको छ । निर्वाचनका लागि विद्यार्थी संगठनहरू सकारात्मक पाइएको परिषद्का सदस्यहरूले बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीहरुको साझा संस्थाको रुपमा परिचित छ तर पछिल्लो अवधिमा स्ववियुको निर्वाचनमा अधिक राजनीति हुने गरेको भन्दै आलोचना हुने गरेको छ भने स्ववियुका पदाधिकारीहरु पनि विवादरहीत हुन नसक्दा स्ववियुको गरिमा खस्केको अवस्था छ ।