प्रचण्ड सरकारको सफल कूटनीतिः कतारी राजा र राष्ट्रसंघ महासचिव आउँदै

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शक्तिराष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने कूटनीति सफल देखिएको छ। केही समयअघि मात्र संयुक्त राष्ट्र संघको महासभाका लागि अमेरिकाको न्युयोर्क पुगेर त्यहीँबाट चीन भ्रमणमा गएका प्रचण्ड कूटनीतिका एक पछि अर्को मोर्चामा सफल देखिएका हुन्।

प्रचण्ड प्रधानमन्त्री भएकै समयमा संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिवको दोस्रो नेपाल भ्रमण हुँदै छ। यसअघि बान कि मुन प्रचण्ड प्रधानमन्त्री रहेको समयमा नेपाल आएका थिए भने हालका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउने भएका छन् ।

 बिहीवार दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले दिएको निम्तो स्वीकार्दै यूएनका महासचिव नेपाल आउन लागेको बताए।

‘राष्ट्रसंघको महासभामा जाँदा मैले त्यसका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ,’ उनले भने, ‘मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो ।’


यसअघि सन् २००८ को अक्टोबरमा तात्कालिक महासचिव बान कि मुन काठमाण्डू आएका थिए। माओवादी शान्तिप्रक्रियामा आएपछि भएको निर्वाचनबाट त्यतिबेला माओवादी सरकारमा थियो।

त्यतिबेला पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै नेपालका प्रधानमन्त्री थिए।

हालै अमेरिकाको न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा भाग लिन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे मङ्गलवार पार्टी पदाधिकारीहरूलाई जानकारी दिने क्रममा महासचिवको भ्रमणबारे बताएका हुन्।

“अमेरिका र लगत्तै चीन भ्रमणबाट फर्किएपछि मङ्गलवार पहिलो पटक त्यसबारे पार्टी पदाधिकारीहरूलाई ब्रीफिङ गर्ने क्रममा प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिवको भ्रमणबारे जानकारी दिनुभयो,” नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भने।

नेपालमा एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएलगत्तै यहाँको शान्तिप्रक्रियामा राष्ट्रसङ्घ प्रत्यक्ष तथा परोक्ष संलग्न रह्यो। राष्ट्रसङ्घीय नियोग अन्मिन नेपालमा सन् २००७ देखि २०११ सम्म रह्यो।

त्यसपछि पनि शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसङ्घीय निकायहरूले बारम्बार उठाउने गरेका छन्।

कतारका राजा पनि आउँदै
कतारका राजा तमिम बिन हमाद अल थानी पनि नेपाल आउँदै गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं,’ उनले भने, ‘कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।’

उनीहरू कहिले नेपाल आउँदैछन् भन्ने चाहिँ प्रधानमन्त्रीले खुलाएनन् ।