स्वास्थ्य लाभ गरेर स्वदेश फर्किएका गृहमन्त्रीसँग प्रधानमन्त्री प्रचण्डको भलाकुसारी

मूलखबर संवाददाता
काठमाडौं

चीन भ्रमणका क्रममा बिरामी परेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्य लाभ गरेर स्वदेश फिर्ता भएका छन् । उनी हिजो बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।

बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ पुगेका बेला हृदयाघात भएका उनी स्वास्थ्यलाभ गरेर फिर्ता भएका हुन् । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले बुधबार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका हुन् । सो अवसरमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) को समापनलगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो । चिकित्सकको सुझावअनुसार अब उनले केही दिन आराम गर्नेछन् ।

चीन भ्रमणमा रहेका बेला यही कात्तिक १ गते राति उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार स्वदेश फर्किएका हुन् ।