
दशैंमा सेलाएको राजनीति, प्रचण्डदेखि ओलीसम्म शीर्ष नेताको के छ योजना
नेपालीहरू यतिखेर दशैंको रमझममा व्यस्त छन् । धेरै नेपालीले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएका छन् । नेपालीहरू यही दशैंमा व्यस्त र मग्न हुँदा सधैं राजनीतिक माथापच्छी गर्ने नेताहरू पनि शान्त छन्।
नेताहरू निष्क्रिय हुँदा राजनीति सेलाएको छ। नेताहरूले उत्साहजनक शुभकामना भने दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई पछाडि फर्किने छुट नभएको बताएका छन् । बडा दशैँको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले अहिलेकै यथास्थितिमा रुमलिलिने छुट आफूहरूलाई नभएको बताएका हुन् ।
जनताको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘हामीलाई पछाडि फर्कने या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नै पर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सृजनात्मक सोचको विकास हुन जरुरी छ। जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र साम्प्रदायिक सोचबाट माथि उठेर गरे हुन्छ, परिवर्तन सम्भव छ भन्ने सामूहिक र सकारात्मक चिन्तन अहिलेको आवश्यकता हो ।’
राष्ट्र निर्माणको संकल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौती राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन हुन उनले आह्वान गरेका छन् ।
के छ शीर्ष नेताहरूको दशैं योजना
यस वर्ष प्रधानमन्त्री प्रचण्डसहित कतिपय शीर्ष नेताको विजयादशमीको टीका छैन । प्रचण्डको निजी सचिवालयका अनुसार तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक प्रधानमन्त्रीको परिवारमा दसैँ छैन ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द अचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले यसपटक पारिवारिक भेटघाटमात्र गर्नेछन् ।
उनले भने, ‘यसअघिका वर्षमा पनि प्रधानमन्त्री प्रचण्डले सामान्य रूपमा पार्टीको कामको सिलसिलामा जहाँ हुनुहुन्थ्यो, त्यतै दसैँ मनाउने गर्नुहुन्थ्यो । टीका पनि लगाउने गर्नु हुन्न थियो । यस पटक त झन् शोकमै भएकाले हुने कुरै भएन ।’
प्रचण्डले गत वर्ष आफूले टीका नलगाएपनि परिवारका सदस्यलाई लगाइदिएका थिए ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो वर्षको दसैँ काठमाडौंमै मनाउँदै छन् । विजयादशमीका दिन देउवाले परिवारमै टीकाटालो गर्ने र त्यसपछि निवासमै बसेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तालिका रहेको सचिवालयले जनाएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘सभापति ज्यू आफ्नो निवासमा दसैँ मनाउनुहुनेछ । यसबाहेक गृहजिल्ला डडेलधुरा वा अन्त कतै जाने योजना छैन ।’
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपाली विजयादशमीको टीका लगाउने छैनन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओलीको परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ । आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् ।
केही दिनदेखि गृहजिल्ला झापामा रहेका ओली कार्यकर्ता भेटघाटसँगै पार्टी र भ्रातृ संगठनको कार्यक्रममा व्यस्त छन् । उनी आज नवमीको दिन काठमाडौं फर्किँदै छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहट पुगेका छन् । फूलपातीकै दिन रौतहट पुगेका नेपाल महानवमीको दिन काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका लगाउने छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दसैँ घरमै मनाउनका लागि घटस्थापनाकै दिन झापा पुगिसकेका छन् । उनले यस वर्षको दसैँ झापाको हल्दिबारी १ मा रहेको आफ्नै घरमा बसेर आफ्नो बुवाको हातबाट टीका लगाउने लिङदेनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै बसेर दसैँ मनाउने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी स्वकीय संयोजक प्रतिभा रावलका अनुसार पार्टीका कार्यक्रम फूलपातीदेखि १० गतेसम्म रोकिएका कारण सभापति १० गतेसम्म काठमाडौं उपत्यकामा नै रहनेछन् ।
नेपालीहरू यही दशैंमा व्यस्त र मग्न हुँदा वा दशैंको तयारीमा रहँदा देशलाई नै तरंगित बनाउने केही घटनाक्रम भएको इतिहास छ । एमाले र माओवादीबीच चुनावी गठबन्धन गर्दै नेकपा बनाउने समझदारी दशैंमा नै भएको थियो। तर यस पटकको दशैं भने राजनीतिक रूपमा भने सुनसान देखिएको छ।
