एनआरएनए चुनाव विवादमा, सिस्टम ह्याक गरेर केसीलाई जिताइएको आरोप

मूलखबर संवाददाता
काठमाडौं

गैरआवासीय नेपाली संघको ११औँ महाधिवेशनबाट बद्री केसी निर्वाचित भएपछि विवाद सुरु भएको छ । केसीका प्रतिस्पर्धीले चुनावी प्रक्रियामाथि नै प्रश्न उठाएका छन् ।

उनीहरूले चुनावी प्रक्रिया फिर्ता लिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । अनलाइन मतदानमा प्रणालीगत रूपमै केसीलाई जिताउने गरी धाँधली गरेको आरोप लगाइरहेका छन् । केसीका प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पक्षका समर्थकहरूले केसीविरुद्ध नाराजुलुसमेत लगाएका छन् । उनीहरूले केसी निर्वाचित भएको चुनाव अस्वीकार गर्ने पनि बताएका छन् ।

काठमाडौंबाट आठ सय मत खसेकोमा महासचिवका उम्मेदवार केशव पौडेलको पक्षमा शून्य मत देखाएपछि मत परिणामको विरोधमा नाराबाजी हुन थालेको हो । महासचिवका उम्मेदवार पौडेलको उक्त अवस्था देखिएपछि अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठको समूहले अध्यक्ष केसीलाई जिताउन सिस्टम ह्याक गरेको आरोप लगाएका हुन् ।

केसी एक वर्षदेखि एनआरएनको अध्यक्ष थिए । अघिल्लो अधिवेशनमा कुल आचार्य, रविना थापा र केसीले कार्यकाल बाँडफाँट गरेका थिए । अहिले केसीले चुनाव नै जितेका छन् भने अध्यक्ष रहिसकेकी थापा अहिले पनि अध्यक्षको दाबीमा भए पनि अन्तिम समयमा महेश श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले केसी निर्वाचित भएको मतपरिणाम अस्वीकार गर्ने बताएपछि समस्या भएको एनआरएनका सदस्यहरूले बताएका छन् । निर्वाचन समितिले केसी निर्वाचित भएको बताइसकेको छ ।

समितिको मतपरिणाम सार्वजनिक गरेपछि मतदातालाई प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द हुनुपर्ने र यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । श्रेष्ठको भनाइमा केसी नेतृत्वको निर्वाचित नयाँ कार्यसमिति भंग गनुपर्नेछ । त्यसो त, अर्का प्रत्यासी शर्मा पनि चर्को विरोधमा छन् ।

उनी पनि चुनावमा धाँधली भएको भन्दै अहिले एनआरएन शून्यमा पुगेको र अब परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेर निकास निकाल्नुपर्ने बताउँछन् ।