११ अर्ब ८० करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत जेठ महिनादेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । बिजुली निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली गत जेठ २८ गतेदेखि भारतीय बजारमा बेच्न शुरु गरेको थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज गरी ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली भारत निर्यात गरेको हो । असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली निर्यात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

३ महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । गएको जेठ महिनाको ५ दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात भएको छ । ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली निर्यात भएको हो ।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात भएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । ३ महिनाको बिजुली समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ ।