उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

मूलखबर संवाददाता
काठमाडौँ, १ कात्तिक

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशै तिहार, नेपाल स्म्वत, छठ जस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत काठमाडौँ उपत्यका भित्रका वितरण केन्द्र प्रमुखहरुलाई मन्त्री बस्नेतले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहज रुपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिनुभयो ।

मन्त्री बस्नेतले लाइट सेन्टरहरुलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने बित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमा नै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गर्नुभयो । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले जिम्मेवार र चनाखो भएर सामान्य समय भन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र शहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा आफै नियमित रुपमा वितरण केन्द्रहरुको अनुगमन, निरीक्षणका लागि निस्कने जानकारी दिँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गर्ने बताउनुभयो ।

चडपर्वको समयमा उद्योग प्रतिष्ठान पनि कम क्षमतामा चल्ने भएकाले बिजुलीको माग कम हुने भएकाले केही बिजुली खेर जाने अवस्था रहेको उहाँको भनाइ छ । “ सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौ । खेर जान सक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ । तर, अन्तिम सहमति आइसकेको छैन ” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । उहाँले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताउनुभयो । सो अवसरमा उपकार्यकारी निर्देशक सिल्वाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।