कसले चलाइरहेको छ कांग्रेसः देउवाको नेतृत्व, महामन्त्रीको भाका र शेखरको सुर

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार रोचक टिप्पणी गरे। एक कार्यक्रममा उनले भने, ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा हो बुझिसाध्य छैन। अस्ती कोशीमा देखिइहाल्नुभयो। कोशीमा दुई गठबन्धन बने। हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को, लाजमर्दो।’

कोशी प्रकरणपछि कांग्रेसमा कसको पडक छ र कसले चलाइरहेको छ भन्ने द्विविधा पैदा भएको छ।

कांग्रेस बहुपदीय नेतृत्व प्रणाली भएको पार्टी भए पनि सभापतिलाई सम्पूर्ण कार्यकारी अधिकार छ । सभापतिको निगरानीमा हरेक गतिविधि र निर्णय हुने भए पनि सभापतिले गर्नुपर्ने काम नगरे के हुने भन्ने व्यवस्था कांग्रेसको विधानमा छैन । यसको फाइदा सभापति शेरबहादुर देउवाले उठाउँदै आएका छन् ।

संसदीय राजनीतिका खेलाडी देउवा यसपटक भने कोशी प्रदेश सरकार गठनको विषयमा चिप्लिए । पार्टीमा संस्थापनइतर समूहको हैसियत पनि राम्रोसँग स्वीकार नगरेका देउवा शेखर कोइरालासँग प्रधानमन्त्री प्रचण्ड साक्षी राखेर सहमति गर्न बाध्य भए ।

उता पार्टीमा विद्रोह गरे पनि शेखर कोइरालाको शक्ति बढेको छैन। कोशीको प्रकणसँगै कोइरालाले आफ्नै समूहभित्रको विश्वसनीयता गुमाएका छन्। आन्तरिक रुपमा अविश्वास सिर्जना बढ्दै गएको भएता पनि बाहिरबाट हेर्दा शेखर कोइराला र महामन्त्री गगन थापालाई एउटै समूहका नेता भनेरै चिनिन्छ। अझ यो समूहका अर्का महामन्त्री विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाईसमेत भित्र्याउने प्रयत्न चलिरहेकै छ। तर कोइरालाले कोशीको सवालमा उनीहरूलाई बेवास्ता गरिदिए। शर्मा त कोशी प्रदेशकै नेता हुन्, उनकोसमेत साथ लिएर हिँडेको देखिएन।

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले कोशी प्रकरणमा सभापति देउवा र नेता कोइरालालाई बराबर आलोचना गरेका छन्। सोमबार बेलुका देउवाले उपसभापति र महामन्त्रीद्वयलाई बोलाएर गरेको छलफलपछि मन्त्री शर्माले भनेका छन्, ‘सभापतिले संस्थागत निर्णय गर्न फरक विचारहरूलाई गाँसेर अगाडि नबढ्ने र फरक विचार समूहका नेताले संस्थाको निर्णय जुन रुपमा आएको होस्। त्यसलाई कार्यान्वयन गराएर नगएर मर्यादालाई उल्लंघन गर्ने कर्म भयो। त्यसैले यो दुइटा गल्ती सभापति र अर्का नेताबाट भएको छ।’

चौधौं महाधिवेशन सभापतिको उम्मेदवार भएपछि कोइरालाले ‘एक पटक, यसै पटक’ नारा सारेका भए पनि पुनः सभापतिको उम्मेदवार बन्न चाहन्छन् भन्ने उनका अभिव्यक्तिले प्रष्ट पारेकै छ। त्यसका लागि उनले आफ्नो समूहलाई विश्वासमा लिनु र फरक समूहका नेताहरूलाई पनि आकर्षित गर्नु अपेक्षित थियो। तर, उसै पनि कमजोर संस्थापन इतर समूहलाई अविश्वास र विभाजनमा होमेका छन्। यो अविश्वास र विभाजन कति दीर्घकालीन र गहिरो हुन्छ, कोइरालालाई त्यसको ‘ब्याकफायर’ त्यति नै घातक हुन्छ। अन्ततः त्यसको असर संस्थापन इतर समूहका सबै जसो नेताले बेहोर्नुपर्ने हुन्छ। संस्थापन समूहको थप हेपाइ सहनुपर्ने हुनसक्छ।

देउवाको पनि आफ्नै पीडा छ। पार्टीको निर्णय केन्द्रीय समिति बैठकमा ८० प्रतिशतभन्दा बढी सदस्यको समर्थनमा देउवाको विपक्षी आवाजको सुनुवाइ हुँदैनथ्यो । यसपटक पनि देउवाले दोहोर भूमिका निभाए । शेखरलाई महामन्त्रीहरूको सहमति हुनुपर्ने बताए । महामन्त्री गगन थापाले कोशी बारेमा औपचारिक पार्टी बैठक राख्न सभापति देउवासँग टेलिफोन संवाद गरेका थिए । देउवाले पार्टीको औपचारिक बैठक बोलाउन मानेनन् । कोशी प्रदेशको बारेमा कोशीका कांग्रेस नेताहरूसँग समेत उनले छलफल गरेका थिएनन् ।

कांग्रेसबाट भएका जस अपजस नेतृत्वकर्ताको हिसाबमा सभापति देउवामाथि आउँछ । उनले बिनासल्लाह चालेको कदमले पार्टीमा मात्र होइन गठबन्धनमा पनि शंकाको सुविधा दिएको छ ।

यसैलाई लिए सोमबार प्रधानमन्त्री प्रचण्डले धनगढीमा समाजवादी मोर्चाले गरेको कार्यक्रममा कांग्रेस पार्टी हो कि मञ्च भनेर टिप्पणी गरे । ‘कांग्रेस पार्टी हो कि मञ्च हो थाहै छैन, एमालेमा पनि ठूलो चिरा परेको छ । यसले हामीलाई फाइदा हुन्छ । अब समाजवादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । त्यसको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनल भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले चिर्कटोमा भएको सहमति कोशीमा कार्यान्वयन नभएकोमा असन्तुष्टि समेत जनाए । गठबन्धनमा एमालेको मन्त्री घुसाएको र त्यो व्यवस्थापन हुने प्रचण्डको भनाइ थियो ।