प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा, के थियो समस्या ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेका छन् । छाती दुखेर असहज महसुस भएपछि उनी मंगलबार बेलुका नर्भिक अस्पताल पुगेका हुन् ।

स्वास्थ्य परीक्षणको क्रममा सबै रिपोर्टहरु नर्मल आएकाले उनलाई डिस्चार्ज गर्ने तयारी छ । उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको टोली संलग्न थियो ।

छाती दुखेपछि .आज बेलुका करिब सात बजेतिर प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगेका थिए । लगत्तै चिकित्सकहरुको टोलीले, ब्लड प्रेसर, एनजीओग्राम र ब्लड रिपोर्ट हेरेको थियो । तर ती सबै रिपोर्ट सामान्य रहेको नर्भिक अस्पताल स्रोतले बतायो ।

प्रधानमन्त्री प्रचण्ड नर्भिक पुगेलगत्तै अस्पतालका चिकित्सकहरुले उपराष्ट्रपति रामसहाय प्रसाद यादवका निजी चिकित्सक मुटुरोग विशिषज्ञ डा. शिवजी सिलवाललाई बोलाएका थिए । भट्ट, सिलवाल र नर्भिक अस्पतालका सीईओ अजय कुमार मिश्रसहितको टोलीले सल्लाह गरेर आवश्यक परीक्षणहरु गरेको थियो । ‘तर सबै रिपोर्ट नर्मल देखिएको छ, हामी डिस्चार्जको तयारीमा छौं,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनु भएको हो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ । उहाँको स्वास्थ्य अवस्थाबारे चिन्ता, चासोसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।