कोशी प्रकरणले उब्जाएको प्रश्नः कांग्रेस पार्टी हो कि मञ्च मात्र
कोशी प्रदेशको मुख्यमन्त्री पाउनका लागि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका सांसदले गरेको तिकडमको राजनीतिले राष्ट्रिय राजनीतिमा एउटा तरङ्ग त ल्याइदिएको छ तर कांग्रेसबारे भने गम्भीर प्रश्न उठेका छन्।
अनौठो कुरा के छ भने स्थानीयदेखि केन्द्रसम्म सत्ताको स्वाद चाखेका कांग्रेस नेताहरूले माओवादीसँगको गठबन्धनलाई स्वाभाविक मानिरहेका छन्, तर सत्ता बाहिर रहेका नेताहरूमा छटपटी देखिन्छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको बताएका छन्। उनले कांग्रेस भित्रका गतिविधिले उक्त पार्टीबारे प्रश्न उठेको बताए।
उनले भने, ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा हो बुझिसाध्य छैन। अस्तो कोशीमा देखिइहाल्नुभयो। कोशीमा दुई गठबन्धन बने। हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को, लाजमर्दो। यसलाई के गरी हल गर्ने भनेर म, देउवा र शेखर बसेर गठबन्धनमा दृढ छौं, कमजोर पार्न दिने छैनौं भनेर हस्ताक्षर गरियो। यति गरेपछि एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त हिजो फेरि अर्को चलखेल भयो।’
स्रोतका अनुसार शनिवार बिहान भएको भेटमा प्रचण्डले शेखरसँग केन्द्रमा त असर पर्दैन नि ? भनेर पटक–पटक सोधेका थिए । तर, एमालेको चलखेलका कारण कांग्रेस नेतासँग भएको सहमति कार्यान्वयन नभएकोमा प्रचण्डको विश्लेषण छ ।
‘कोशीमा दुईवटा गठबन्धन बने, एउटा हाम्रो र अर्को एमाले र असन्तुष्ट कांग्रेसको लाजमर्दो (गठबन्धन) । त्यसपछि धेरै मेहनत गरेर कांग्रेस सभापति शेरबहादुर देउवा, शेखर कोइराला र मैले यो गठबन्धनको बारेमा दृढ छौं भनेर कमिटमेन्टसहित हस्ताक्षर गर्यौं,’ प्रचण्डले सोमवार कैलालीको धनगढीमा भने, ‘एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त, फेरि भयो । एमाले मन्त्री छिराइहालेछन्, त्यो करेक्सन हुन्छ । जित्नलाई यही गठबन्धनले जित्छ ।’
कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीभित्र विकाशित घटनाक्रमबारे प्रश्न उठाएका छन्। धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीसहित सोमबार साँझको बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा शनिबार तीन नेताबीच भएको ‘सम्झौता’प्रति प्रश्न उठाए।
सभापति देउवाले कोशीमा विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखेका थिए। उक्त बैठक अधिकांश समय कोशी घटनामै केन्द्रित थियो।
सभापति देउवाले भने गठबन्धन जोगाउनका लागि सहमति गर्नुपर्ने अवस्था आइपरेको बताएका थिए।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहित यो गठबन्धनलाई नै निरन्तरता दिने कांग्रेसले संस्थागत निर्णय पहिले नै गरिसकेकोले भन्दै सम्झौताको औचित्यबारे सभापति देउवालाई प्रश्न सोधेका थिए।
‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला,’ महामन्त्री शर्माले भने।
उनले यसअघि एमालेको मुख्यमन्त्रीलाई नै सहयोग गर्नुपर्छ भन्ने आफुहरुको सुझाव नमान्दा अहिलेको अवस्था आएको जिकिर गरे । माओवादीका नेता इन्द्र आङ्वोलाई कोशीको मुख्यमन्त्रीमा सभापतिले प्रस्ताव गर्दा नै आफुहरुको असहमति गरेको उनले बताए । शर्माले प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमतिमा पनि दुई महामन्त्रीको सहमति नरहेको स्पष्ट पारे ।
कोशीको घटनाक्रमपछि आफ्नो निर्णयको बारेमा सभापति देउवाले आत्मसमिक्षा गर्नुपर्ने बताए । घटनापछि अहिलेको मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने मत रहेको उनको भनाइ छ ।