एनआरएनए अध्यक्षमा ४ जनाकाे उमेदवारी, अरूमा कति छन् उमेदवार ?
विदेशमा बस्ने गैरआवासिय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) शर्मा र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
कात्तिक २ गते हुने निर्वाचन प्रयोजनका लागि असोज २५ देखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको हाे ।
उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ ।
महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५ जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ ।
यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ ।
एक/एक जना निर्वाचित हुने महिला संयोजकमा दुई, युवा संयोजकमा दुई, अमेरिकाज क्षेत्रीय संयोजकमा दुई, एसिया प्यसिफिक संयाजकमा ४, युरोप संयोजकमा ३, मध्यपूर्व संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी अफ्रिका संयोजकमा पुष्पराज भट्टराईको एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएका छन् । यस्तै ओसिनिया क्षेत्रीय संयोजकमा पनि दिनेश पोख्रेल सर्वसम्मत भएका छन् ।