कोशीको समीकरणले केही फरक पार्दैन : प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

धनगढी । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश सरकारको वर्तमान समीकरणले सत्ता गठबन्धनलाई केही फरक नपर्ने बताएका छन् ।

नेकपा एमालेले नेपाली कांग्रेसको शेखर कोइराला गुटसँग मिलेर केन्द्र र सातवटै प्रदेश सरकारमा चलखेल गर्ने तयारी गरेको भनेर मिडियामा समाचार आएका बेला प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई केही फरक नपर्ने बताएका हुन् ।

कोशी प्रदेशमा कांग्रेससहितको र एमालेसहितको दुईवटा गठबन्धन बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले माओवादीसहितको सत्ता गठबन्धन नटुट्ने बताए । कैलालीको धनगढीमा आज समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘शेखर कोइरालासँग बसेर एउटा निकास निकाल्यौँ तर फेरी एमालेलाई घुसाउने काम भएको छ । त्यसलाई व्यवस्थापन गर्छौँ तर यसैले गठबन्धन टुट्दैन पाँच वर्षसम्म चल्छ ।’ नेकपा एमालेभित्र ठूलाठूला चिरा परेर कमजोर भएकाले उसले सत्ता गठबन्धन भत्काउन नसक्ने उनले बताए ।

समाजवादी मोर्चा बनेपछि मोर्चाका चारवटै घटकका नेता–कार्यकर्ताहरु खुसी भएको भन्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा र आफू नेतृत्वको वर्तमान सरकाप्रति जनताको आशा भरोसा बढेको बताए । ‘विश्वभरबाट मोर्चाको भविष्यप्रति चासो र चिन्ता व्यक्त भइरहेको छ र वर्तमान सरकारप्रती आशा भरोसा गरेको प्रत्यक्ष अनुभूति गरेको छु,’ उनले भने ।

मोर्चाका चार घटक माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको स्कुलिङ र मान्यता एउटै भए पनि विभिन्न भंगालोमा विभाजित भएको भन्दै प्रचण्डले अब मोर्चाबाट समाजवादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने बताए । साथै परिवर्तन उल्ट्याउन चाहने शक्तिलाई परास्त पनि गर्ने उनले बताए ।

आफूले सरकारको नेतृत्व गरेपछि ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण, मिटरब्याज प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारविरुद्ध निर्मम रुपमा प्रस्तुत भएको र सुशासनको पक्षमा काम गरेको प्रधानमन्त्री प्रचण्डले बताए । यति कामबाट आफू अझै सन्तुष्ट नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र अनियमितताका अरु फाइल पनि छिट्टै खुल्ने बताए । तर यसबारे अहिले धेरै भन्न नमिल्ने उनले स्पष्ट पारे ।

वर्तमान सरकार सुशासनका लागि बनेको भन्दै उनले सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका नेपाली र अनौपचारिक सेवा क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि आबद्ध गरेको उनले स्मरण गरे । युद्धग्रस्त इजरायलबाट हालै नेपालीहरुलाई उद्धारसमेत गरेको बताउँदै उनले भने, ‘आफ्नै जहाज लगेर आफ्ना नागरिकलाई फर्काउने काम गर्ने नेपाल सरकार पहिलो भयो ।’

जातीय र धार्मिक दंगा भड्काउने र हालको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको आशंका उनले गरे । उनले एकतालाई एकता सुदृढ गर्न नसकेमा र जनताको पक्षमा काम गर्न नसकेमा ठूलो त्याग र बलिदानीबाट प्राप्त उपलब्धि जोखिममा पर्ने उनले बताए ।

प्रतिगमनकारीले टाउको उठाउने काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तालाई सरकार, सदन र सडकबाट परास्त गर्ने बताए । अहिलेको समाजवादी मोर्चा सन्देश मात्र भएको भन्दै उनले भने, ‘रियलमा संघर्ष गर्न बाँकी नै छ । लाखौंकोे संख्यामा युवा सडकमा उतारेर परिवर्तन विरोधीलाई जवाफ दिन जरूरी छ ।’

विगतमा पनि संविधान मिचेर देशलाई प्रतिगमनतिर लैजान खोज्दा आफूहरु नै सडक संघर्षमा उत्रिएको बताउँदै उनले भने, ‘अहिले पनि त्यस्तै प्रयास भइरहेको छ ।’