कोशीमा मुख्यमन्त्री नियुक्ति सांसदहरुको सनाखतका आधारमा
कोशी प्रदेशमा मुख्यमन्त्रीको नियुक्तिका लागि सांसदहरुको सनाखत गरिने भएको छ। मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्की दुवैले ४७/४७ सांसदको हस्ताक्षेर पेस गरेकाले नियुक्तिको निर्णयका लागि प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गर्ने निर्णय लिएका हुन्।
सनाखतका लागि आज बिहान ८ बजेदेखि अपराह्न २ बजेसम्मको समय तोकिएको छ। प्रदेश सभाका सदस्यहरुलाई त्यो समयभित्र प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुन भनिएको छ।
एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेसका कार्की आफ्नो पक्षमा हस्ताक्षर गर्ने सांसदहरुसहित शुक्रबार अपराह्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए।
कार्की आफूलाई नियुक्त गरिनुपर्ने भन्दै एमालेका प्रमुख सचेतक हिक्मत कार्कीसहित खापुङलाई भेट्न पुगेका थिए। तर खापुङले हस्ताक्षर सनाखत नगरी आफू निर्णयमा पुग्न नसक्ने जवाफ दिएका थिए। त्यसपछि कार्की र उनको पक्षमा हस्ताक्षर गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका थिए।
माओवादी केन्द्रका आङ्बोले आफ्नो पक्षमा कार्कीको समेत हस्ताक्षर बुझाएका छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ। शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पुगेकाहरुले धोका नदिए कार्कीलाई मुख्यमन्त्री बन्नबाट कसैले रोक्न सक्ने छैन। उनको पक्षमा एमालेका ३९ सांसदले हस्ताक्षर गरेका छन्। यस्तै कांग्रेसका ७ सांसदले पनि कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका छन्।
मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए। त्यो समयभित्र आङ्बो र कार्कीको मात्र दाबी पेस भएको छ। कार्कीलाई कांग्रेसका संस्थापनइत्तरका नेता शेखर कोइरालाले मैदानमा उतारेका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले साथ दिने आश्वासन दिएपछि कार्कीलाई अगाडि सारेका हुन्।
कोइरालाले कार्कीलाई कुनै हालतमा मैदानबाट फिर्ता नगराउने बताइसकेका छन्। गठबन्धनको निर्णयविपरीत अगाडि सारिएका कार्कीलाई दाबी फिरता लिन लगाउनका लागि कोइरालालई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलका साथै पार्टी सभापति शेरबकहादुर देउवा निकट नेताहरुले फोन गरेका थिए। तर उनले कोशीको मुख्यमन्त्री कांग्रेसको भागको भएकाले माओवादीका आङ्बोलाई दिन नसकिने जवाफ दिएका छन्।
यस विषयमा छलफलका लागि देउवाले अपराह्न आफ्नै निवास धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेकामा कोइराला अनुपस्थित भए। उनको अनुपस्थित बैठक बस्न सकेन। कोइरालाले कार्कीलाई कुनै हालतमा जिताउन भन्दै प्रतिनिधि सभाका सदस्य डा. सुनील शर्मा र दीपक खड्कालाई खटाएका छन्।
प्रदेश सभामा एमालेसँग उपसभामुखसहित ४०, कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, राप्रपासँग ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ सांसद छन्।