ओलीको उक्साहटमा उत्ताउलिएका शेखर, कोशीमा कसले मार्ला मुख्यमन्त्रीको बाजी !
कोशी प्रदेशको मुख्यमन्त्री बन्न सांसद इन्द्र आङ्बो र केदार कार्कीले प्रदेश प्रमुख समक्ष बिहीबार बहुमत सांसदको समर्थन पेस गरेका छन्। दुबै पक्षले ४७–४७ सांसदको समर्थन रहेको दाबी गरेका छन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अहिलेसम्म तटस्थ बसेको छ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्।
६ सांसद भएको राप्रपा तटस्थ बसेको छ। प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएको भए पनि बिहीबार नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ। एउटै दलका सांसदको हस्ताक्षर दुवैतर्फको उम्मेदवारीमा प्रयोग भएको छ । यस्तोमा अब प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने संकट देखिएको छ ।
किनभने संस्थापनको निर्णय विपरित कांग्रेस कोइराला पक्षधरका सांसद केदार कार्कीले एमालेको सहयोगमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कार्कीले कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कार्कीअघि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका इन्द्र आङ्बोले दाबी पेश गरेका थिए ।
कोइराला समूहका ८ जना सांसदले सत्ता गठबन्धनमाथि हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाएका छन् । मुख्यमन्त्रीको दाबी पेश गर्दा आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको दाबी शेखर पक्षका केदार कार्कीसहित ८ सांसदले लगाएका हुन् ।
शेखर पक्षका कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, मोरङका मानबहादुर लिम्बू, धनकुटाकी इन्दिरा थापा, सुनसरीकी सुनिता गुरुङ र उदयपुरकी लीलाकुमारी राईको हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको हो ।
कोशीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै कार्कीले अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षर गठबन्धनले प्रयोग गरेको आरोप लगाएका छन् । गरेको दावी गरेका छन । ८ जान नै प्रदेश प्रमुख समक्ष उपस्थित समेत भएका थिए ।
प्रदेश सभापति समेत रहेका संसदीय दलका नेता उद्धव थापाले दलको ह्विप नलाग्ने भए पनि शेखर समूहको गतिविधिमा पार्टी अनुशासन लाग्ने बताए । उनले एकपटक दाबी फिर्ता लिन आग्रह गर्ने र त्यसो नभए कारबाही गर्ने उनले बताए ।
“पार्टीको निर्णय विपरीत उहाँहरु जानुभयो । यसम ह्विप नलागे पनि पार्टी अनुशासन लाग्छ । हामी एकपटक अनुरोध गर्छौं । फिर्ता नभए दलको विधानअनुसार कारवाही हुन्छ,” थापाले मूलखबरसँग भने ।
ओलीको इसारामा उत्ताउलिएका शेखर
नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको भिन्ना भिन्दै गुट बन्दा कोशीको राजनीति थप अन्योल भएको छ। देउवाले बेवास्ता गरे पनि शेखर कोइरालाले सरकारमाथि धावा बोल्न छोडेका छैनन् । आफ्नो प्रस्तावमा देउवा तयार नभएपछि शेखरले पटकपटक पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताउनुलाई रणनीतिक रूपमा हेर्नुपर्ने एक नेता बताउँछन् । कोशीमा पनि त्यसकै निरन्तरता देखिएको छ।
‘१५ औं महाधिवेशनमा नेता बन्ने मात्रै होइन । अहिलेको नेतृत्वको विषयमा असझदारी बढाएर भए पनि नेता बन्ने कोशिशमा शेखर लाग्नुभएको देखिन्छ,’ कांग्रेसका एक नेताले मूलखबरलाई भने, ‘सरकार फेरिए आफ्नो प्रभाव देखाउने र नफेरिए सरकारका कमजोरीलाई देखाउँदै कांग्रेसमा आफ्नो माहोल बनाउने रणनीतिमासमेत उहाँ (शेखर) हिँडेको हो कि भन्ने देखिन्छ । त्यसका लागि उहाँलाई एमाले अध्यक्ष ओलीको साथ देखिएको छ। ’
देउवाले सत्ता सहकार्यका लागि सम्वादै गर्न नचाहेपछि एमाले अध्यक्ष केपी ओली कोइराला समूहमार्फत कांग्रेसभित्र खेल्न खोजेको देखिन्छ । देउवाले विगत दुई वर्षदेखि आफूसँग संवाद गर्न नचाहँदा कांग्रेससँग सहकार्यको परिस्थिति सिर्जना नभएको ओली बताउँछन् ।
कोइरालाले पनि देउवालाई भेटेर एमालेसँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । देउवाले ओलीबाट पुस १० मा धोका भएको भन्दै एमालेसँगको सहकार्य नकार्ने गरेको कोइरालाको भनाइ छ । देउवा तयार नभएपछि कोशी प्रदेशलाई ओली र कोइराला सहकार्यको प्रस्थान बिन्दु बनाउन खोजेको देखिएको छ। यद्यपि पार्टीले नचाहेका कारण तथा संसदीय दलको निर्णयका आधारमा चल्ने भएकाले कोशीमा गर्न खोजिएको चलखेल सफल हुने चाँहि देखिँदैन।