युद्धग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार
काठमाडौं । सरकारले युद्धग्रस्त इजरायलबाट नेपालीहरुको सकुशल उद्धार सुरु गरेको छ । हमास समूहको आक्रमणपछि जोखिममा परेका नेपालीहरुलाई सरकारले काठमाडौंबाट हवाई जहाज पठाएर नेपाल ल्याउन सुरु गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको निर्देशनमा नेपाल एयरलाइन्सको हवाई जहाज आज बिहान ३ बजे इजरायल पठाइएको थियो । सो जहाज चढेर पहिलो चरणमा २५४ जना नेपालीहरु बिहीबार मध्यराति काठमाडौं आइपुग्दैछन् । अर्को चरणमा थप नेपालीहरुलाई ल्याइने परराष्ट्र मन्त्रालयलेृ जनाएको छ ।
नेपालीहरुलाई ल्याउन प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका थिए ।
पहिलो चरणमा २५४ जना नेपालीहरुलाई इजरायलबाट काठमाडौं पठाएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् ।
शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।
हालसम्म ३५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियामा ढिलाई भएकाले शव ल्याउन ढिलाइ हुने भएको हो । हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो ।
परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने छ ।