माओवादीले पायो कोशीको संसद बचाउने जिम्मा, अङ्बोले पाउलान् त विश्वासको मत !
कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलबीच सहमति भएको छ । कांग्रेस र एकीकृत समाजवादीले दाबी छाडेपछि आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जुटेको हो ।
मुख्यमन्त्री बनेपनि आङ्बोलाई विश्वासको मत लिन कठिन हुने निश्चित छ । संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ ।
गठबन्धन दलले सरकार निर्माणमा अन्य दलको साथ लिने प्रयास गरिरहेको छ। ९३ सदस्यीय कोशी प्रदेश सभामा यसअघि बनेका दुई वटै सरकारले विश्वासको मत लिन नसकेपछि सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ५ मा पुगेको छ।
प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनका ४७ सांसद छन्। एमालेका ४० र राप्रपाको ६ सांसद छन्। गठबन्धनसँग प्रष्ट बहुमत छ। तर, राप्रपा वा एमालेलाई सरकारमा ल्याएर टिकाउ सरकार बनाउन चाहेको कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए।
सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर फेरि दोस्रो पटक मुख्यमन्त्री बन्दा पनि थापाले विश्वासको मत नपाएपछि सरकार गठन उपधारा ३ मा पुगेको थियो।
प्रधानमन्त्रीसँगको भेटमा लिङ्देनले सघाउने संकेत गरेका थिए। यद्यपि, राप्रपाले औपचारिक निर्णय भने लिइसकेको छैन। उसले शुक्रबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाएको छ। तर लिङ्देनले सार्वजनिक रुपमै अस्थिरताको कारण नबन्ने र मध्यावधि टार्नका लागि आफूहरूको तटस्थता तोड्न सक्ने बताइसकेका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि शुक्रबार साँझसम्ममा दाबी गर्नु पर्नेछ।
यसअघि सोही गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री भएका थिए। तर उनको नियुक्ति प्रक्रियालाई सर्वोच्च अदालतले दुवैपटक असंवैधानिक ठहर गरिदिएको थियो। त्यसैले कांग्रेसको तर्फबाट उनलाई पुनः मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी भइरहँदा विरोध पनि भएको थियो।