इजरायलमा फसेका नेपालीको उद्दार आज, आउन चाहेका सबैको यात्रा खर्च सरकारको

मूलखबर संवाददाता
काठमाडौं

इजरालयमा अलपत्र नेपालीको उद्धारका लागि आज विहान विमान इजरायल तर्फ लागेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीका अनुसार बिहीबार बिहान २ बजे विमान प्रस्थान गरेको छ।

बुधबार बेलुकी ११ बजे उडान भर्ने तय भएको नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० विमान केही प्रक्रिया पूरा गरेर नेपाली समय अनुसार बिहीबार बिहान २ बजे उडेको हो।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उद्धार उडान इजरायलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।

जहाजमा परराष्ट्रमन्त्री एनपी साउद पनि छन्। कमर्सियल फ्ल्याइटमा आएकाको सबै बिल सरकारले ब्योहोर्ने छ । यसअघि हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि यही जहाजमा ल्याइने परराष्ट्र मन्त्रालयले जानकारी दिएको थियो ।

तर परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बुधवार आयोजित पत्रकार सम्मेलनमा शव नल्याउने जानकारी दिएकी थिइन् । यद्यपि, उक्त जहाजमा इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई भने ल्याइने भएको छ ।

इजरायलमा सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको खोजीसमेत भइरहेको प्रवक्ता लम्सालले बताएकी थिइन् । इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । बचेकाको उद्धारका लागि सरकारले पहल गरेअनुरुप लिन जहाज पठाएको हो।

सरकारले इजरायलमा रहेका नेपाली राजदूत लगायतका कर्मचारी पनि बंकरमा बसेर काम गरिरहेको बताएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले राजदूत लगायतका कर्मचारी बंकरमा बसेर काम गरिरहेको जानकारी दिइन्।

युद्ध भएकोले बाहिर निस्किने स्वीकृति नभएको जानकारी आएको उनको भनाइ थियो।

बेपत्ता रहेका विपिन जोशीको हकमा विभिन्न अस्पतालमा उनको तस्बिर र राहदानीको प्रतिलिपि प्रस्तुत गरेर पत्ता लगाउने कोसिस भइरहेको मन्त्रालयले बताएको छ।